Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूको निक्षेप ६१ खर्ब ७५ अर्ब

बैंकहरूको निक्षेप ६१ खर्ब ७५ अर्ब


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ६१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले वैशाख २५ गते अद्यावधिक गरेको तथ्यांकअनुसार वित्तीय प्रणालीमा निक्षेप बढेको छ । पछिल्लो दुई सातामा करिब ५० अर्ब निक्षेप थपिएको छ । अर्थतन्त्रमा समस्या भएको भन्दै मानिसहरूले लगानी गर्नभन्दा बैंकमा राखेर ब्याज खान सुरक्षित ठान्दा वित्तीय प्रणालीमा निक्षेप उच्चरुपमा बढिरहेको छ । वैशाख १२ गते ६१ खर्ब २४ अर्ब रहेको निक्षेप वैशाख २५ गते ६१ खर्ब ७५ अर्ब पुगेको छ ।

रेमिट्यान्स आप्रवाह बढ्नु, उपभोग घट्नु, सरकारी खर्च क्रमशः बढ्न थाल्नुलगायतका कारण वित्तीय प्रणालीमा निक्षेप बढ्दै गएको अर्थशास्त्रीहरू बताउँछन् ।

निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न सकेको छैन । केन्द्रीय बैंकका अनुसार वैशाख २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ५१ खर्ब ११ अर्ब रुपैयाँ छ । कर्जा असुलीमा समस्या देखिएकाले बैंकहरू कर्जा लगानीमा चुजी बनेका छन् । त्यसै पनि कर्जाको माग कम हुनेगरेको र माग भएको कर्जा पनि बैंकहरूले छानेर मात्रै लगानी गरिरहेको एक बैंकरले बताए ।

निक्षेप उच्चदरमा बढ्ने तर कर्जाको माग न्यून हुने हुँदा वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । निक्षेपमा भएको वृद्धिका कारण ब्याज लागत बढ्दै गएपछि बैंकहरूले ब्याजदर निरन्तर घटाउँदै आएका छन् । कर्जाको ब्याजदर नै एकल विन्दुमा झरिसकेको भए पनि नयाँ ऋणको माग निकै कम देखिएको छ ।

तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा मात्र ५४ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप छ । वाणिज्य बैंकले प्रवाह गरेको कुल कर्जा ४५ खर्ब २० अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरूले सात खर्ब १४ अर्ब रुपैयाँ निक्षेप लिएर पाँच खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ५१ प्रतिशत कायम छ । यस आधारमा बैंकहरूसँग अझै चार खर्ब ४४ अर्ब रुपैयाँ थप लगानी गर्ने क्षमता छ । यसैगरी बैंकिङ क्षेत्रमा हुने अन्तरबैंक कारोबारको औसतब्याजदर दुई दशमलव ५६ प्रतिशत कायम छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया