अझै दबाबमा अर्थतन्त्र राष्ट्र बैंकको फरक दाबी
काठमाडौं । बजार पूर्णरूपमा चलायमान हुन नसक्दा मुलुकको अर्थतन्त्र दबाबमा रहेको भए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा भने अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन् । केही महिनाअघिसम्म बढ्दो मूल्यवृद्धिका कारण आम नागरिकको आम्दानीको ठूलो हिस्सा दैनिक उपभोग्य वस्तु खरिद, शिक्षा र स्वास्थ्यमा खर्च हुँदा बचतको हिस्सा न्यून छ । खाद्यान्न, शिक्षा र स्वास्थ्यबाहेक अन्य वस्तु तथा सेवाको खरिदमा लाग्नसक्ने अवस्था उपभोक्ताको छैन ।
वित्तीय प्रणालीमा निक्षेप थुप्रिँदै गएको छ तर कर्जाको माग न्यून छ । जसले गर्दा मुलुकको अर्थतन्त्रमा मन्दीको प्रभाव अझै हटिसकेको छैन । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको प्रतिवेदनले अधिकांश सूचकहरू सकारात्मक देखाएको छ । मूल्यवृद्धि नियन्त्रणमा आएको, मुलुकको शोधनान्तर स्थिति र चालू खाता बचतमा गएको, रेमिट्यान्स बढेको, विदेशी मुद्रा सञ्चिति बढेको छ ।
यस्तै, मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत कायम भएको छ । आयात दुई दशमलव आठ प्रतिशत घटेको छ । रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव आठ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा छ भने, विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड छ । सरकारी खर्च नौ खर्ब ३९ करोड र राजस्व परिचालन सात खर्ब ४८ अर्ब चार करोड रुपैयाँ कायम रहनुलाई राष्ट्र बैंकले अर्थतन्त्र सहज भएको भनेको छ ।
विस्तृत मुद्राप्रदाय सात दशमलव पाँच प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव तीन प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन पनि सात दशमलव दुई प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव छ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव नौ प्रतिशत छ ।
मूल्यवृद्धि नियन्त्रणमा
२०८० चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) चार दशमलव ६१ प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा मुद्रास्फीति दर सात दशमलव ७६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव २१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव १४ प्रतिशत छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २२ दशमलव ६४ प्रतिशत, तरकारीको १६ दशमलव ९९ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ५९ प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको छ दशमलव शून्य छ प्रतिशतले बढेको छ । यस अवधिमा घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने १० दशमलव १० प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२ दशमलव ८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२ दशमलव ६१ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ । यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक शून्य दशमलव ३३ प्रतिशतले घटेको छ ।
२०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव शून्य छ प्रतिशत, तराईको चार दशमलव ५८ प्रतिशत, पहाडको पाँच दशमलव ३३ प्रतिशत र हिमालको चार दशमलव ३२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः आठ दशमलव ५७ प्रतिशत, सात दशमलव ६८ प्रतिशत, सात दशमलव शून्य एक प्रतिशत र सात दशमलव ४७ प्रतिशत थियो ।
विदेशी मुद्रा सञ्चिति १९ खर्ब ११ अर्ब
विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले बढेर २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो । चैतमा मात्रै एक खर्ब २१ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२ दशमलव सात प्रतिशतले बढेर १४ अर्ब ३६ करोड पुगेको छ । कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५ दशमलव चार प्रतिशतले बढेर १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५ दशमलव पाँच प्रतिशतले बढेर दुई खर्ब २३ अर्ब ६५ करोड कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव छ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ महिना १५ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
रेमिट्यान्स करिब ११ खर्ब भित्रियो
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय (रेमिट्यान्स आप्रवाह) बढेको छ । यस आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७ दशमलव सात प्रतिशतले बढेर आठ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार चार सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार सात सय २१ छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ८७ हजार आठ सय ३९ र दुई लाख १७ हजार नौं सय ५९ थियो । चालू आर्थिक वर्षको नौ महिनामा खुद ट्रान्सफर १७ दशमलव आठ प्रतिशतले बढेर ११ खर्ब ७४ अर्ब ५० करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
शोधनान्तर खाता तीन खर्ब ६५ अर्ब बचतमा
मुलुकको शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ७४ अर्ब २८ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब ७५ करोडले बचतमा छ ।
चालू खाता पनि एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६० अर्ब ४३ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब ३५ करोडले बचतमा छ । पुँजीगत ट्रान्सफर १९ दशमलव दुई प्रतिशतले घटेर चार अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ४८ करोडले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ९१ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६२ करोडले धनात्मक थियो ।
खुद सेवा आय ५२ अर्ब २३ करोड घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । चालू आर्थिक वर्षको नौ महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा देखिएको छ ।
प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४० प्रतिशतले बढेर ६० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४३ अर्ब १७ करोड रहेको थियो ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय ४२ दशमलव पाँच प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय ६७ अर्ब १९ करोड रुपैयाँ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया