Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविकास बैंकहरूको खराब कर्जा बढ्यो

विकास बैंकहरूको खराब कर्जा बढ्यो


काठमाडौं । विकास बैंकहरूमा खराब कर्जा बढ्दै गएको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूको औसत खराब कर्जा चैत मसान्तमा झण्डै चार प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार २०८० चैत मसान्तसम्म विकास बैंकहरूले पाँच खर्ब ९५ अर्ब २५ करोड रूपैयाँ हाराहारी निक्षेप संकलन गरी चार खर्ब ९८ अर्ब ७९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये तीन दशमलव ६३ प्रतिशतका अर्थात् १८ अर्ब १० करोड ६३ लाख ३१ हजार एक सय रूपैैयाँ खराब कर्जा छ ।

एक वर्ष अघिको तुलनामा शून्य दशमलव ३३ प्रतिशत विन्दु अर्थात् दुई अर्ब ३५ करोड ३७ लाख ९१ हजार एक सय रूपैयाँ खराब कर्जा बढेको छ । २०७९ चैत मसान्तमा विकास बैंकहरूले चार खर्ब ८३ अर्ब २६ करोड ६५ लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ३३ अर्ब पाँच करोड ९७ लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसबेला कुल कर्जाको तीन दशमलव ४० प्रतिशत अर्थात् १५ अर्ब ७५ करोड २५ लाख ४० हजार रूपैयाँ खराब कर्जा थियो ।

विकास बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खराब कर्जा बढेको देखिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव ११ प्रतिशत खराब कर्जा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको यस आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव ४१ प्रतिशत पुगेको छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकमा पनि गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव ९८ प्रतिशत कर्जा खराब देखिएकोमा यस वर्ष बढेर पाँच दशमलव ८६ प्रतिशत पुगेको छ । क्षेत्रीयस्तरको सिन्धु विकास बैंकको खराब कर्जा भने घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव २७ प्रतिशत कर्जा खराब रहेको सिन्धुमा अहिले घटेर तीन दशमलव ६५ प्रतिशतमा झरेको छ । कामना सेवा विकास बैंकमा भने गत आर्थिक वर्ष तेस्रो त्रैमासमा तीन दशमलव २७ प्रतिशत खराब कर्जा रहेकोमा हाल यस्तो कर्जा बढेर तीन दशमलव ५५ प्रतिशत पुगेको छ ।

मुक्तिनाथ विकास बैंकको खराब कर्जा पनि बढेर दुई दशमलव शून्य दुई प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथको खराब कर्जा एक दशमलव ९० प्रतिशत थियो । लुम्बिनी विकास बैंकको खराब कर्जा केही घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा रहेको लुम्बिनी विकास बैंकको खराब कर्जा तीन दशमलव ६९ प्रतिशतमा झरेको छ । महालक्ष्मी विकास बैंकको खराब कर्जा पनि केही घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव ६२ प्रतिशत खराब कर्जा रहेकोमा अहिले घटेर चार दशमलव १६ प्रतिशतमा झरेको छ । एक वर्षअघि तीन दशमलव ५५ प्रतिशत खराब कर्जा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा यस वर्ष बढेको छ । अहिले सांग्रिलाको निष्क्रिय कर्जा तीन दशमलव ८४ प्रतिशत छ । गरिमा विकास बैंकमा पनि गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई दशमलव ९५ प्रतिशत कर्जा खराब रहेकोमा हाल यस्तो कर्जाको अनुपात बढेर दुई दशमलव ९७ प्रतिशत पुगेको छ ।

ज्योति विकास बैंकको खराब कर्जा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव ९५ प्रतिशत छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा एक दशमलव शून्य छ प्रतिशत विन्दुले बढी हो । गतवर्ष ज्योति विकासको खराब कर्जा तीन दशमलव ८९ प्रतिशत थियो । कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा पनि बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा चार दशमलव १८ प्रतिशत रहेको खराब कर्जा यस आर्थिक वर्षको सोही अवधिमा चार दशमलव ९५ प्रतिशत पुगेको छ ।

क्षेत्रीयस्तरको कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा पनि एक वर्षमा तीन दशमलव २६ प्रतिशतबाट बढेर चार दशमलव ९६ प्रतिशत पुगेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, नारायणी विकास बैंकलगायतका बैंकहरूको खराब कर्जा पनि बढेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x