Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअधिकांश विकास बैंकहरूमा एनएफआरएस ९ कार्यान्वयनमा

अधिकांश विकास बैंकहरूमा एनएफआरएस ९ कार्यान्वयनमा


काठमाडौं । सबैजसो विकास बैंकहरूले एनएफआरएस–९ मा आबद्ध भएको डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपाल (डेवान)ले जानकारी दिएकोे छ । संघले विज्ञप्ति जारी गर्दै संघमा आबद्ध १६ विकास बैंकमध्ये अधिकांश विकास बैंकहरूले एनएफआरएस–९ कार्यान्वयनका लागि आवश्यक पर्ने एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोलुसन्स’ खरिद गर्ने कार्य सम्पन्न गरी आपूर्तिकर्तासँग सम्झौता गरी कार्यान्वयन गर्ने आवश्यक कार्यको थालनी गरिसकेको जानकारी दिएको हो । बाँकी सदस्य बैंकहरूले पनि २०८१ असारभित्रै उक्त प्रक्रिया सम्पन्न गर्ने गरी आन्तरिक प्रक्रियाहरू अगाडि बढाइसकेको जानकारी संघले दिएको छ ।

एनएफआरएस–९ मा कर्जा जोखिम व्यवस्थापन गर्नका लागि अपनाइने विधि र कार्यलाई समेटिएकाले यसलाई कार्यान्वयन गर्दा अनुमानित कर्जा जोखिम र त्यसबाट हुन सक्ने नोक्सानीको गणना विवेकपूर्ण तरिकाले गरिन्छ । कर्जा चुक्ता नहुन सक्ने सम्भावना (प्रोब्याबिलिटी अफ् डिफल्ट), कर्जा चुक्ता नभएमा असुली हुन नसक्ने सम्भावित रकम (लस् गिभन् डिफल्ट) र कर्जा चुक्ता नहुन सक्ने सम्भाव्य रकम (एक्सपोजर एट डिफल्ट)लाई आधार बनाएर अनुमानित कर्जा नोक्सानीको (एक्सपेक्टेट क्रेडिट लस) गणना गरिन्छ । आव २०८१÷८२ बाट एनएफआरएस–९ लागू हुने भएकाले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त सबैका लागि लागू हुने गरी नेपाल राष्ट्र बैंकले २०८१ जेष्ठ २ गते सोसम्बन्धी मार्गदर्शन (एक्सपेक्टेट क्रेडिट लस रिलेटेड गाइडलाइन्स, २०२४) जारी गरेको छ ।

एनएफआरएस–९ लागू गर्नका लागि डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालले यसअघि ‘ई एन्ड वाई’ श्रीलंकाबाट सहजकर्ता आमन्त्रण गरी आफ्ना सदस्य बैंकका उच्च कार्यकारी, सम्बन्धित विभागीय प्रमुख र कर्मचारीहरूलाई दुई पटकसम्म तीन दिने तालिम कार्यक्रम सञ्चालन गरेको थियो ।

‘एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्यूसन्स’ खरिद गर्नका लागि सम्भावित आपूर्तिकर्ताको पहिचान गर्नका लागि एसोसिएसनअन्तर्गत रहेको वित्त उपसमिति, कार्यसमिति र सबै सदस्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको समेत बैठकले स्वदेशी तथा विदेशी फर्म÷कम्पनीहरूबाट प्रस्तुतीकरण गराई अध्ययन गरिएको थियो । उक्त अध्ययनको निष्कर्ष सम्पूर्ण सदस्य बैंकहरूलाई सुझावस्वरूप पठाइएको थियो । ‘

एनएफआरएस–९’ लाई पूर्णतया कार्यान्वयन गरेपछि सम्भावित कर्जा नोक्सानीको गणना र उक्त सम्भावित नोक्सानी खाम्नका लागि गरिने कर्जा नोक्सानी व्यवस्था थप यथार्थपरक हुने भएकाले सदस्य बैंकहरूलाई कर्जा जोखिम व्यवस्थापन गर्न थप सहज हुने विश्वास एसोसिएसनले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x