Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको साधारणसभा सम्पन्न

नेपाल लाइफको साधारणसभा सम्पन्न


काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ र २४ औँ साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईको अध्यक्षतामा यही असार १८ मंगलबार पर्सामा वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।

सो अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आव २०७८/७९ र आव २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८/७९ र आव २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ ।

त्यसैगरी आव २०७९/८० को लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ । सभाले आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । सभाले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१ दशमलव शून्य पाँच प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने एक अर्ब ७२ करोड ७९ लाख ९२ हजार नौ सय ४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

यसका साथसाथै सभाले सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीहरूबाट तीन जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीहरूको तर्फबाट तीन जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ ।

अध्यक्ष गोविन्दलाल संघईले जीवनबीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरूबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको कुरा बताए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालीन रणनीति निर्माण गर्न, अध्ययन व्यवस्थापन प्रणाली (लर्निङ म्यानेजमेन्ट सिस्टम) प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरीय सेवाको अनुभूति गराउन, अटोमेसनको प्रयोगबाट समयको बचत र लागत घटाउन भविष्यमा कम्पनीलाई डिजिटलरूपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा बताए । साथै, कम्पनीले जोखिम व्यवस्थापन कार्ययोजना तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरूको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराए । सञ्चालक समितिका अध्यक्ष संघईले साधारणसभामा सेयरधनीहरूले राखेको सुझावहरूलाई सकारात्मकरूपमा लिइने जानकारी गराउँदै कम्पनीको विकासमा योगदान पुर्याउने सबैमा धन्यवाद ज्ञापन गरे ।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले सेयरधनीहरूबाट प्रस्तुत भएका जिज्ञासा तथा सुझावहरूको सन्दर्भमा सञ्चालक समितिको धारणा प्रस्तुत गर्दै सेयरधनीहरूको सकारात्मक सुझावहरूलाई कम्पनीको विकासको निम्ति अवलम्बन गर्न सदैव तयार रहेको बताए । २३ औँ र २४ औँ वार्षिक साधारणसभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आव २०७८/७९ र आव २०७९/८० मा आएका चुनौतीहरूलाई अवसरहरूमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरू बताए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले कुल बीमाशुल्क आर्जनका आधारमा आव २०७८/७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५ दशमलव ५९ प्रतिशत र आव २०७९/८० मा २६ दशमलव शून्य छ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको जानकारी गराए । चुनौतीपूर्ण बजार परिस्थितिमा पनि कर्मचारी, अभिकर्ता एवं सरोकारवालाहरूको साथ सहयोगले एक भरपर्दो, विश्वसनीय र उत्कृष्ट कम्पनीको रूपमा स्थापित भई निरन्तर उच्चतम सञ्चालन आम्दानी तथा प्रतिफल दिन सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण पराजुलीले बताए ।

२०८१ जेठ मसान्तसम्ममा कम्पनीको लगानी दुई खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष एक खर्ब ८९ अर्ब १८ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल एक सय ९३ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म दुई खर्ब ५९ अर्ब ८३ करोड रुपैया बीमा शुल्क आर्जन गरेको छ भने ७८ अर्ब ७६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २४ वटा बीमा योजनाअन्तर्गत ३५ लाख ५२ हजार चार सय १४ बीमालेख जारी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x