Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचन्द्रागिरि नगरपालिका र एनआईसी एसिया बैंकबीच सम्झौता

चन्द्रागिरि नगरपालिका र एनआईसी एसिया बैंकबीच सम्झौता


काठमाडौं  । चन्द्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एसिया बैंकबीच सम्झौता भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ साझेदारको रूपमा एनआईसी एसिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुने गरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाँ र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका छन् ।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित २०८०) अनुसार नगरपालिकाभित्र मिति २०८० श्रावण एक गते वा सो मितिभन्दापछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगेपश्चात परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधिबमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ । नगरपालिकाको कार्यविधिअनुसार त्यस नगरमा स्थायी बसोबास गर्नेका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्ने छन् । यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको पाँच–पाँच हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एनआईसी एसिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोशेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x