Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन


काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरूलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट एक दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो । आव २०७९/८० को नाफाबाट तत्कालीन सहभागीहरूलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने छ । यसरी प्रतिफल वितरण गर्दा बचत वृद्धि अवकाश कोषका साढे तीन लाख सहभागीहरूलाई करिब एक अर्ब ६६ करोड रुपैयाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

ब्याजदर परिवर्तन, कुन योजनाको कति ?
कोष सञ्चालक समितिको निर्णयअनुसार चालू आवको साउन १ देखि ब्याजदर परिवर्तन भएको छ । परिवर्तित ब्याजदरअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर छ दशमलव ५० प्रतिशत कायम भएको छ । यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर आठ प्रतिशत निर्धारण भएको छ । यसअघि यसको ब्याजदर आठ दशमलव पाँच प्रतिशत रहेको थियो ।

नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज सात प्रतिशत र व्यक्तिगततर्फ सात दशमलव ५० प्रतिशत निर्धारण गरिएको छ । यसैगरी उपदान तथा पेन्सन योजनामा पाँच दशमलव ५०, लगानीकर्ता अवकाश कोष योजनामा पाँच दशमलव ५०, नार्क बीमा कोषमा छ र राष्ट्रसेवक जीवन बीमा कोषको पाँच दशमलव ५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

कर्जाको ब्याजदरतर्फ शैक्षिक कर्जाको हकमा आठ दशमलव ५०, आवास कर्जामा आठ दशमलव ५०, सरल कर्जामा नौ र सवारी कर्जामा नौ प्रतिशत कायम भएको छ । यसपूर्व शैक्षिक कर्जामा नौ दशमलव ५० प्रतिशत, आवास कर्जामा नौ प्रतिशत, सरल कर्जामा नौ दशमलव ५० प्रतिशत र सवारी कर्जामा नौ दशमलव ५० प्रतिशत ब्याजदर रहेको थियो । कोषले सहभागीहरूलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रैयमासमा पुनरावलोकन गर्नेगरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x