Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ क्षेत्रले भोगेको समस्याको अर्थमन्त्रीलाई जानकारी

बैंकिङ क्षेत्रले भोगेको समस्याको अर्थमन्त्रीलाई जानकारी


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का प्रतिनिधिहरू र उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटघाट भएको छ । सिबिफिनका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेल समक्ष मंगलबार भेटघाट गरी हार्दिक बधाई तथा शुभकामना ज्ञापनसहित समसामयिक विषयहरूमा छलफल गरेको परिसंघले जानकारी दिएको छ ।

परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गदै अध्यक्ष पौडेलले लगानी र व्यवसायमैत्री नीति र वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन आएको, वित्तीय संस्थाहरूको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरूपमा वृद्धि भएको, पुँजीकोषमा दबाब परेको, बैंक तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्नका लागि गरिएका दुरुत्साहनका कार्यहरू निरुत्साहित हुन् नसकेको, प्रस्तावित बाफियाका केही नीतिगत प्रावधानहरूले बैंकिङ लगानीकर्ताहरूमा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीहरू समेत पलायन हुने क्रम बढेकोप्रति उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको ध्यानाकर्षण गराए । मुलुकको अर्थतन्त्र र निजी क्षेत्रका वर्तमान अवस्था र अपेक्षाका विषयमा गहिरो ज्ञान हासिल गरेका अर्थमन्त्रीबाट समग्र आर्थिक एवम् बैंकिङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवम् बैंकिङ विकासका पहलकदमीहरू अवलम्बन हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।

त्यसैगरी परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समयमा बैंकिङ क्षेत्रको वास्तविकतालाई नहेरी/नबुझी अथाह कमाएको दुष्प्रचार गर्दै मुलुकको अर्थतन्त्रको आधारस्तम्भ मानिएको बैंकिङ क्षेत्रमाथि चौतर्फी प्रहार भइरहेकोप्रति चिन्ता व्यक्त गरे । पुँजी निर्माण एवम् परिचालन, लगानी विस्तार, रोजगारी, सामाजिक रुपान्तरण र राजस्वमा उल्लेख्य योगदान पुर्याउँदै आएको यस क्षेत्रले कमाउनै हुँदैन भन्ने निहित स्वार्थ समूहको सोच र सोही प्रकारका नीतिगत व्यवस्थाले आज बैंक तथा वित्तीय संस्थाहरूको मुनाफा ऋणात्मक भएको कारणले लाखौँ लगानीकर्ताहरूको जीवन गुजारामा मात्र असर नपुगी स्वयं सरकारको राजस्व लक्ष्यमा समेत गम्भीर असर परेको विषयप्रति संवेदनशील भइदिन विशेष आग्रह गरे । त्यसैगरी परिसंघका कार्यकारी सदस्य लिला प्रकाश सिटौलाले कर्जा र धितोको विषयमा वस्तुगत अध्ययन नै नगरी गैरकार्यकारी भूमिकामा रहने सञ्चालकहरूलाई कागजी जानकारीका आधारमा हिरासतमा लिने प्रवृति बढ्दै जानुले समग्र बैंकिङ क्षेत्र नै भयवित बनेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले सिबिफिन टोलीबाट प्राप्त शुभकामना र सृदृढ एवम् आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा जनाएको सहकार्यको प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गरे । साथै, सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवम् चुनौतीहरूको समाधान र अपेक्षाहरूको सम्बोधन लागि सरकारले आवश्यक पहलकदमी लिने जानकारी गराए । सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवम् बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रको विश्वास एवम् छविमाथि हानि हुने र बैंकिङ गतिविधि सञ्चालनमा असर पुर्याउने कुनै पनि गतिविधिहरू सरकारलाई क्षम्य नहुने बताए । अर्थतन्त्रको आधार स्तम्भका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधानहरू सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने बताए ।

अर्थमन्त्रीको कार्यकक्ष, सिंहदरबारमा भएको उक्त भेटघाट तथा छलफलमा सिबिफिनका उपाध्यक्ष कुशप्रसाद मल्ली, सचिव भरतराज ढकाल, सहकोषाध्यक्ष हिरेन्द्रमान प्रधान सदस्यहरू राधेश पन्त, मनोज कुमार गोयल, डा चन्द्रबहादुर अधिकारी, महेन्द्र कुमार गोयल र महानिर्देशक रोशन कोइरालाको समेत सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x