Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुलुकको अर्थतन्त्र: तथ्याङ्कमा राम्रो

मुलुकको अर्थतन्त्र: तथ्याङ्कमा राम्रो


काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार सबैजसो आर्थिक सूचकहरू सकारात्मक छन् । तथ्याङ्कअनुसार मुुलुकको वार्षिक औसत मुद्रास्फीति (मूल्यवृद्धि) पाँच दशमलव ४४ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । अघिल्लो आर्थिक वर्ष मुद्रास्फीति सात दशमलव ७४ प्रतिशत थियो । २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५७ प्रतिशत छ । २०८० असार महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४४ प्रतिशत थियो ।

तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह साढे १६ प्रतिशत बढेको छ । शोधनान्तरस्थिति पाँच खर्ब नाघेको छ । विदेशी विनिमय सञ्चिति करिब साढे २० खर्ब रुपैयाँ हाराहारी पुगेको छ । विदेशी विनिमय सञ्चितिले साढे १५ महिनाको वस्तु आयात गर्न पुग्ने देखिन्छ । विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेकोमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब पुगेको छ ।

अर्थतन्त्रका सूचकहरू सबै ठीकठाक छन् । तर, उपभोग्य वस्तुको मूल्यवृद्धि अझै पनि उच्च छ । खाद्य तथा पेयपदार्थअन्तर्गत मरमसालाको मूल्यवृद्धि २६ दशमलव ४० प्रतिशत, दाल तथा गेडागुडीको नौ दशमलव ९६, खाद्यपदार्थको नौ दशमलव ८५, चिनीको नौ दशमलव ९७ प्रतिशत मूल्यवृद्धि छ । तरकारीको मूल्यवृद्धि आठ दशमलव २९ प्रतिशत र घ्यू तथा तेलको १० दशमलव ९९ प्रतिशत मूल्यवृद्धि भएको छ । आयात र निर्यातबीचको ग्याप बढ्दै जाँदा व्यापारघाटा अझै उच्च छ । देशभित्र रोजगारी नपाउँदा दैनिक हजारौँ युवाहरू विदेश पलायन हुने क्रम बढ्दै गएको छ । सरकारले लक्ष्यअनुसार खर्च गर्न सकेको छैन भने आर्थिक गतिविधि न्यून हुँदा लक्ष्यअनुसार राजस्व सङ्कलन भएको छैन । बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको छ तर कर्जाको माग बढ्न सकेको छैन । यिनै कारण अर्थतन्त्रमा अझै पनि समस्या छ ।

१४ खर्ब ४५ अर्ब भित्रियो रेमिट्यान्स
गत आर्थिक वर्षमा विदेशमा काम गर्ने नेपालीहरूले १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६ दशमलव ५० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४ दशमलव दुई प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ६० हजार एक सय तीन र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई लाख ७७ हजार दुर्ई सय ७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४ दशमलव सात प्रतिशतले बढेर १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

शोधनान्तर बचत पाँच खर्ब नाघ्यो
मुलुकको शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा तीन अर्ब ७७ करोडले बचतमा छ ।

आर्थिक वर्ष २०८०/८१ मा चालू खाता दुई खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड छ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा एक अर्ब ६६ करोडले बचतमा छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२ दशमलव नौ प्रतिशतले कमी आई पाँच अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर सात अर्ब ५४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब १७ करोड रुपैयाँ थियो ।

विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब
विदेशी विनिमय सञ्चिति बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ३२ दशमलव छ प्रतिशतले बढेर २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर कायम छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३० दशमलव चार प्रतिशतले बढेर १५ अर्ब २७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ असार मसान्तमा ३७ दशमलव चार प्रतिशतले बढेर १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा शून्य दशमलव पाँच प्रतिशतले घटेर एक खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्त सूचक
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिना १८ दिनको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातह्रू क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८ दशमलव आठ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

बाह्य लगानी स्थिति
२०८१ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति २१ खर्ब ७६ अर्ब ९८ करोड रुपैयाँ तथा दायित्व १८ खर्ब ९० अर्ब ६० करोड रुपैयाँ रहेको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति दुई खर्ब ८६ अर्ब ३८ करोडले बचतमा छ । २०८० असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति एक खर्ब ७७ अर्ब दुई करोडले घाटामा थियो ।

सेवा आय घाटामा
आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोड रुपैयाँले घाटामा थियो ।

समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण आय ३२ दशमलव १० प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रुपैयाँ थियो ।

समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१ दशमलव १० प्रतिशतले वृद्धि भई एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ४४ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय एक खर्ब अर्ब ४२ करोड रुपैयाँ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x