Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा

नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले यही भदौ सात गते शुक्रबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आफ्नो ३६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा अध्यक्षले समीक्षा वर्ष २०७९/८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिदृष्यहरू धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्त्र सुधारोन्मुख भए पनि सो चुनौतीपूर्ण रही यसको लागि लामो समय लाग्ने देखिएको पृष्ठभूमिमा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारेको बताइ । सोही कारण पुँजीगत खर्च एवं समग्र मागमा आएको कमीले स्वदेशी अर्थ व्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आव २०७९/८० मा जीवन बीमा व्यवसाय आशातितरूपमा विस्तार हुन नसकेको भए पनि आव २०८०/८१ मा जीवन बीमा व्यवसायले सुधारको बाटो तय गरेको उल्लेख गरिन् ।

आव २०७९/८० मा कम्पनीको सबै वित्तीय सूचाकांकहरू उत्साहप्रद रहेको कम्पनीको भनाइ छ । कम्पनीको कुल बीमाशुल्क १६ दशमलव ६६ प्रतिशतले वृद्धि भई १६ सय ८० करोड पुगेको छ । समीक्षा वर्षको सञ्चालनबाट जम्मा नौ सय ३१ करोड थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १७ दशमलव ७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६५ सय ४० करोड पुगेको छ । कुल लगानी १५ दशमलव ७२ प्रतिशतले वृद्धि भई ४९ सय ७८ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आव २०७९/८० मा सो दर नौ दशमलव ४५ प्रतिशत कायम रहेको छ ।

कम्पनीका सबै लगानीहरू श्री नेपाल बीमा प्राधिकरणले जारी गरेका लगानी निर्देशिकाअनुसार रहेका छन् । यी सबै सुरक्षा र प्रतिफलको हिसाबले राम्रा छन् । सोही लगानी निर्देशिकाअन्तर्गत रहेर कम्पनी आफ्नो लगानी विविधीकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरूमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरूमा व्यापारिक भवन निर्माण गर्ने प्रयोजनका लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको जनाएको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगञ्जस्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथाशीघ्र सो भवन सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । कम्पनीले मर्चेन्ट बैंकिङ क्षेत्रमा नेसनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी सञ्चालनको प्रक्रिया अघि बढाएको छ भने आव २०८१/८२ मा सहायक कम्पनीकै रूपमा एउटा इन्भेस्टमेन्ट कम्पनी खोल्न प्रयासरत रहने जनाएको छ । यसबाट लगानी विविधीकरणमा सहयोग पुग्ने र यसले कम्पनीको प्रवर्धनमा टेवा पु¥याउने कम्पनीको विश्वास छ ।

कम्पनीले ग्राहक केन्द्रित भई सूचना प्रविधि क्षेत्रमा पर्याप्त लगानी गर्दै व्यवसाय सञ्चालनको क्रममा डिजिटल प्रणालीको उच्चतम् प्रयोग गर्दै आएको छ । कम्पनीले आफ्नो अभिकर्ता सञ्जाललाई थप व्यावसायीकरण गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसै गरी कम्पनीको आव २०७९/८० को बीमांकन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशनअनुसार पर्याप्त फ्युचर बोनस प्रोभिजनिङ गरेर बीमितहरूलाई दिइआएको बोनसदरमा यथावत निरन्तरता दिई बीमितहरूलाई उचित प्रतिफल दिन सफल भएको छ । कम्पनीले व्यावसायिक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्वबीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशनअनुसार खुद नाफाको एक प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।

सभाले आव २०७९/८० को लागि अद्यावधिक चुक्ता पुँजी पाँच अर्ब एक करोड १६ लाख ६६ हजार चार सय २५ मा १० प्रतिशतका दरले नगद लाभांश ५० करोड ११ लाख ६६ हजार छ सय ४२ र चार प्रतिशतका दरले बोनस सेयर लाभांश २० करोड चार लाख ६६ हजार छ सय ५७ साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x