Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशाइन रेसुंगा डेभलपमेन्ट बैंकले पायो बेस्ट बैंक अवार्ड

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पायो बेस्ट बैंक अवार्ड


काठमाडौं । इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंकसहित तीनवटा अवार्ड हात पारेको छ । इन्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’सहित बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुंँदै तीन अवार्ड जित्न सफल भएको बैंकले जनाएको छ ।

अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायतका देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । शुक्रबार नयाँ दिल्लीमा आयोजित समारोहमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए । नेपालबाटै एनआईसी एसिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा अवार्ड जितेका छन् । इन्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न सुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलो पटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो । अवार्डका लागि इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, करपछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायतका सूचकहरूमा उत्कृष्ट भएको थियो ।

बैंकले यसअघि न्यु बिजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ । हाल आठ अर्ब अधिकृत पुँजी र चार अर्ब ७३ करोड चुक्ता पुँजी भएको बैंकका लुम्बिनीमा ७२ सहित देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x