Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिष्क्रिय कर्जा असुलीमा समस्या ३५ अर्ब नाघ्यो बैंकहरूको गैर–बैंकिङ सम्पत्ति

निष्क्रिय कर्जा असुलीमा समस्या ३५ अर्ब नाघ्यो बैंकहरूको गैर–बैंकिङ सम्पत्ति


निष्क्रिय कर्जा असुलीमा समस्या उत्पन्न हुँदा बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति उच्चरूपमा बढेको छ । अर्थतन्त्रमा समस्या देखिँदा बैंक तथा वित्तीय संस्थाको निक्षेप, कर्जा प्रवाह एवं सावाँव्याज असुलीमा समस्या उत्पन्न हुँदा गैर–बैंकिङ सम्पत्ति बढेको हो ।बैंकहरूले आफूले प्रवाह गरेको कर्जाबाट लामो समयसम्म सावाँव्याज असुलउपर गर्न नसकेको खण्डमा त्यस्तो कर्जालाई निष्क्रिय कर्जामा वर्गीकरण गर्नुपर्छ । निष्क्रिय कर्जालाई नै खराब कर्जामा रूपान्तरण हुन्छ । त्यस्तो कर्जा असुलीको लागि बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक सूचना जारी गरी ३५ दिने, २१ दिने, १४ दिने र सात दिने सूचना जारी गरी उक्त कर्जाको लागि प्रयोग भएको धितो लिलामीको प्रक्रिया सुरु गर्छ । तर धितो लिलाम बिक्रीको लागि पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि उक्त धितो बिक्री हुन सकेन भने बैंकहरूले त्यस्तो धितो आफैँले सकार गरी गैर–बैंकिङ सम्पत्तिको रूपमा राख्नुपर्ने हुन्छ । पछि त्यो सम्पत्तिलाई आफ्नो स्वप्रयोजनबाहेक अन्य क्षेत्रमा उपयोग गर्न पाइँदैन । त्यसलाई पुनः बिक्री गरेर नगदमा रुपान्तरण गर्नुपर्ने हुन्छ । तर अहिले आर्थिक शिथिलताका कारण तत्कालीन चल÷अचल सम्पत्ति बिक्री हुन सक्ने अवस्था छैन, सोही कारण पछिल्लो समयमा बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति बढेको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालनमा रहेका ५४ वटा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा रकम ५१ खर्ब ६१ अर्ब ७१ करोड १० लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकिङ क्षेत्रको कुल तीन दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहँदा बैंकिङ क्षेत्रको कुल गैर–बैंकिङ सम्पत्ति ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँ रहेको छ । यो सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १६ अर्ब ८२ करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकिङ क्षेत्रले कुल ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव शून्य दुई प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो भने गैर–बैंकिङ सम्पत्ति १८ अर्ब ६८ करोड ९० लाख रुपैयाँ थियो ।

वाणिज्य बैंकहरूले मात्र कुल ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ भने गैर–बैंकिङ सम्पत्ति ३० अर्ब १७ करोड ६० लाख रुपैयाँ छ । यो सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १४ अर्ब ८७ करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ४३ खर्ब आठ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा दुई दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिँदा १५ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो । विकास बैंकहरूले भने २०८०÷८१ मा पाँच खर्ब एक अर्ब ४३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो भने गैर–बैंकिङ सम्पत्ति तीन अर्ब ३६ करोड ९० लाख रुपैयाँ थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १० करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूले कुल चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो भने दुई अर्ब २६ करोड ९० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।

फाइनान्स कम्पनीहरूले ९९ अर्ब ६९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा नौ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ भने गैर–बैंकिङ सम्पत्ति एक अर्ब ९६ करोड ४० लाख रुपैयाँ देखिएको छ । यो सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा ८५ करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा भने फाइनान्स कम्पनीहरूले ९२ अर्ब ९३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो भने गैर–बैंकिङ सम्पत्ति एक अर्ब ११ करोड ४० लाख रुपैयाँ बराबरको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x