Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदुई खर्ब ९५ अर्ब प्रत्यक्ष वैदेशिक लगानीमध्ये भारतबाट एक खर्ब तीन अर्ब

दुई खर्ब ९५ अर्ब प्रत्यक्ष वैदेशिक लगानीमध्ये भारतबाट एक खर्ब तीन अर्ब


काठमाडौं । नेपालमा सबैभन्दा बढी प्रत्यक्ष लगानी भारतबाट आउने गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ अनुसार तीन खर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउँदा सबैभन्दा बढी भारतबाट आएको छ ।

२०८० असार मसान्तसम्म नेपालमा ५८ वटा देशबाट प्रत्यक्ष वैदेशिक लगानी आएको छ । सोमध्ये भारतबाट सबैभन्दा बढी ३५ प्रतिशत अर्थात् एक खर्ब तीन अर्ब ४५ करोड रुपैयाँ लगानी आएको छ । चीनबाट १२ प्रतिशत अर्थात् ३५ अर्ब ४६ करोड रुपैयाँ लगानी आएको छ । यीबाहेक आयरल्यान्डबाट सात दशमलव सात प्रतिशत अर्थात् २२ अर्ब ६२ करोड ४२ लाख रुपैयाँ, अष्ट्रेलियाबाट छ दशमलव चार प्रतिशत अर्थात् १९ अर्ब पाँच करोड ६७ लाख रुपैयाँ, सिंगापुरबाट छ दशमलव चार प्रतिशत अर्थात् १८ अर्ब ८० करोड ८४ लाख रुपैयाँ, बेस्ट इन्डिजबाट चार दशमलव नौ प्रतिशत अर्थात् १४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ लगानी आएको छ ।

यसैगरी साउथ कोरियाबाट चार दशमलव सात प्रतिशत अर्थात् १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ लगानी आउँदा युनाइटेड अरब इमिरेट्सबाट चार दशमलव दुई प्रतिशत अर्थात् १२ अर्ब २८ करोड ४१ लाख रुपैयाँ लगानी आएको छ ।

अमेरिकाबाट चार दशमलव एक प्रतिशत अर्थात् १२ अर्ब २२ करोड ७८ लाख रुपैयाँ लगानी आएको छ भने हङकङबाट दुई दशमलव चार प्रतिशत अर्थात् सात अर्ब २३ करोड ५३ लाख रुपैयाँ प्रत्यक्ष लगानी आएको छ । यीबाहेकका अन्य राष्ट्रहरूबाट भने १२ दशमलव दुई प्रतिशत अर्थात् ३६ अर्ब सात करोड २८ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९ दशमलव सात प्रतिशत औद्योगिक क्षेत्रमा र ४० दशमलव दुई प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव चार प्रतिशत वैदेशिक लगानी आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/०८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ९५ अर्ब ५० करोड कायम छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२ दशमलव आठ प्रतिशत, सञ्चिति ३३ दशमलव सात प्रतिशत र कर्जाको अंश १३ दशमलव पाँच प्रतिशत छ । कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा आएको छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९ दशमलव सात प्रतिशत छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५ दशमलव एक प्रतिशत, कोशी प्रदेशमा १४ दशमलव सात प्रतिशत, मधेश प्रदेशमा आठ दशमलव आठ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम छ । प्रतिवेदनअनुसार वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ६० दशमलव ६९ प्रतिशत र इक्विटीको प्रतिफल भने करिब ११ दशमलव ६१ प्रतिशत छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x