Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवार्षिक १३ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह

वार्षिक १३ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह


काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह हरेक वर्ष बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार पाँच वर्षयता वार्षिक औसत १३ प्रतिशतका दरले र आप्रवाह बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा नौ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ विप्रेषण भित्रिएकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा यसको वृद्धिदर ५० दशमलव ३८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा १३ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २२ दशमलव आठ प्रतिशत र गत आर्थिक वर्षमा २० दशमलव २४ प्रतिशत थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नु र त्यसमा पनि दक्ष जनशक्ति विदेशिएपछि विप्रेषण आप्रवाह बढेको उनीहरूको भनाइ छ । मुलुकमा पर्याप्त रोजगारी नभएका कारण युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको श्रमविज्ञ गणेश गुरुङले बताए । वैदेशिक रोजगारीका लागि जाने क्रममा गत आर्थिक वर्षमा सात लाख ४१ हजार तीन सय ९७ जना, आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार तीन सय २७ जना, आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजार ९७ जना र आर्थिक वर्ष २०७७/७८ मा ७२ हजार ८१ जना श्रम स्वीकृति लिएका थिए । २०७५/७६ मा कोभिडको कारण वैदेशिक रोजगारमा जानेको संख्या निकै कम थियो । तर, कोभिड १९ को प्रभाव हराउँदै गएपछि फेरि श्रमशक्ति बाहिरिने क्रम बढ्दै गायो ।

दैनिक करिब चार खर्ब रुपैयाँ विप्रेषण भित्रिँदा यसको आप्रवाह बढ्दै गएको हो । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब सात अर्ब ३१ करोड रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ । विप्रेषण आप्रवाह जीडीपीको अनुपात आर्थिक वर्ष २०७८/७९ मा २० दशमलव २४ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा २२ दशमलव ८२ प्रतिशत थियो । मुलुकको अर्थतन्त्र धानेको विप्रेषण बढ्नुमा भने वैदेशिक रोजगारीमा जाने र दक्ष व्यक्तिहरू कामका लागि विदेश जानु नै मुख्य कारण रहेको अर्थशास्त्री केशव आर्चायले बताए । विदेश जानेमा निम्न र मध्यम वर्गका सदस्यहरूको संख्या ठूलो छ जसले विदेशमा कमाएको रकम आफ्नो परिवार वा पारिवारिक सदस्यहरूलाई पठाउने गरेको आचार्यले बताए । रेमिट्यान्स आप्रवाह बढ्दा मुलुकको अर्थतन्त्र चलायमान बन्न भने मद्दत पुगेको छ ।

पर्याप्त विप्रेषण आप्रवाहका कारण शोधानन्तर स्थिति, चालू खाता र विदेशी विनिमय सञ्चिति सकारात्मक रहेको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । गत आर्थिक वर्षमा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड रुपैयाँले बचतमा, कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर र चालू खाता दुई खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ बचतमा छ । शोधनान्तर घाटा नेपालजस्तो पैठारीमा आधरित अर्थतन्त्रका लागि ज्यादै संवेदनशील विषय हो ।

आर्थिक वर्ष २०७८/७९ मा करिब दुई खर्ब ५२ अर्ब रुपैयाँले शोधनान्तर घाटा देखिएको थियो । यो शोधनान्तर घाटा तुलनात्मकरूपमा उच्च थियो । आर्थिक वर्ष २०७७/७८ को असारमा एक अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७८/७९ को वैशाखमा करिब दुई खर्ब ८८ अर्बले घाटामा देखिएको थियो । यस समयमा राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति करिब १२ खर्ब १५ अर्ब रुपैयाँ पुगेको थियो । उक्त विदेशी विनिमय सञ्चिति सात दशमलव आठ महिनाको वस्तु पैठारी र छ दशमलव नौ महिनाको वस्तु तथा सेवा पैठारी धान्न मात्र पर्याप्त थियो । शोधनान्तर घाटाको प्रभाव वित्तीय प्रणालीमा समेत पर्नगई तरलता अभावको स्थितिसमेत सिर्जना भएको थियो । यो शोधनान्तरघाटा सामान्य प्रक्रियाले समाधान हुने स्थिति थिएन ।

राष्ट्र बैंकले तत्कालीन अन्तर्राष्ट्रिय एवं आन्तरिक आर्थिक स्थितिलाई मध्यनजर गर्दै समग्र बाह्य क्षेत्रमा देखिएको समस्या समाधानको लागि मौद्रिक नीति, २०७९/८० को कार्यदिशा सजगतापूर्वक कसिलो बनाइएको थियो । त्यसैगरी, बढ्दो पैठारीलाई दृष्टिगत गरी सरकारले पैठारी नियमन नीति अवलम्बन गरेको थियो । फलस्वरूप, २०७९ असोजबाट बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गएको थियो । चालू खाता घाटामा उल्लेख्य सुधार भई शोधनान्तर स्थिति १४ महिनापछि २०७९ असोजमा पहिलो पटक बचतमा रहेको थियो । साथै, विदेशी विनिमय सञ्चितिमा समेत सुधार हुँदै गएको थियो । आर्थिक वर्ष २०७९/८० असारमा शोधनान्तर स्थिति करिब दुई खर्ब ८५ अर्ब रुपैयाँले बचतमा थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x