Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकमा थुप्रियो निक्षेप, कर्जाको माग छैन

बैंकमा थुप्रियो निक्षेप, कर्जाको माग छैन

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस


स काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २४ गतेको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप ६४ खर्ब ७९ अर्ब रुपैयाँ छ । यस्तै कर्जा प्रवाह ५२ खर्ब १३ अर्ब रुपैयाँ छ । निक्षेप सङ्कलन र कर्जा प्रवाहबीचको फरक १२ खर्ब ६६ अर्ब रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर ऋण प्रवाह गर्न पाउने व्यवस्था छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाले कुल ५८ खर्ब ३१ अर्ब रुपैयाँ लगानी गर्न मिल्छ तर अहिलेसम्म प्रवाह भएको ऋण ५२ खर्ब १३ अर्ब रुपैयाँ छ । बैंकहरूले छ खर्ब १८ अर्ब रुपैयाँ थप लगानी गर्न मिल्ने देखिन्छ । तर, कर्जाको माग निकै कम हुँदा कर्जा विस्तारमा बैंकहरू कमजोर देखिएका छन् । यसले वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना गरेको छ ।

तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले सङ्कलन गरेको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ छ भने ऋण लगानी ४६ खर्ब १३ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन र कर्जा लगानीबीचको अन्तर ११ खर्ब ३८ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरूसँग पाँच खर्ब ६३ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।

विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप सङ्कलन सात खर्ब २८ अर्ब रुपैयाँ छ भने कुल ऋण लगानी छ खर्ब रुपैयाँ छ । यस्तै निक्षेप र कर्जाबीचको फरक एक खर्ब २७ अर्ब रुपैयाँ छ । विकास बैंकहरूसँग कुल लगानीयोग्य रकम ५५ अर्ब रुपैयाँ छ । कर्जाको माग किन बढेन ?

कर्जाको माग बढ्न नसक्नुको प्रमुख कारण उपभोग कम हुनु हो । गएको आर्थिक वर्षमा मूल्यवृद्धिको कारण उपभोक्ताको क्रयशक्ति घट्दा उपभोग घटेको थियो । तर, अहिले मूल्यवृद्धि (मुद्रास्फीति) नियन्त्रण उन्मुख छ । तर पनि उपभोग बढ्न सकेको छैन । उपभोग कम हुनु भनेको वस्तु तथा सेवाको माग कम हुनु हो । बजारमा वस्तु तथा सेवाको माग न्यून भएपछि उद्योगीहरूले बैंकबाट कर्जा लिएर उत्पादन बढाउने काम गरेका छैनन् ।

अर्कोतर्फ कर्जाकोे माग न्यून भएपछि बैंकहरूले ब्याजदर घटाएका छन् । अहिले एकल अंक ब्याजदरमा सजिलै कर्जा पाउन सकिने अवस्था छ । तर, ब्याजदर सस्तिँदा वास्तविक क्षेत्रमा भन्दा सजिलै पैसा बनाउन सकिने भएपछि लगानीकर्ताले सट्टेबाजी बजारमा पैसा खन्याएका छन् । धेरैले सेयरबजारबाट मनग्य पैसा कमाए । सजिलै पैसा बन्ने भएपछि बैंकबाट ऋण लिएर उत्पादन गर्ने प्रवृत्ति हराउँदै गएको देखिन्छ । सेयरबजारबाट कमाएको पैसा विलाशिताका वस्तु खरिदमा जाने गरेको छ । यसले गाडीलगायतका वस्तुको माग त बढाएको छ तर उत्पादन बढ्ने क्रियाकलाप हुन सकेको छैन ।

केन्द्रीय बैंकलाई सकस
बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति हुँदा केन्द्रीय बैंकलाई भने सकस परेको छ । अधिक तरलतालाई वाञ्छित सीमामा राख्न र लगानीयोग्य रकमको दुरुपयोग रोक्न आर्थिक वर्षको सुरुदेखि नै मौद्रिक उपकरणहरूको प्रयोग गरी तरलता प्रशोचन गर्दै आएको छ । आर्थिक वर्ष सुरु भएको करिब दुई महिनामा केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत तीन खर्ब सात अर्ब २५ करोड रुपैयाँ तानेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा उपयोग गर्दै राष्ट्र बैंकलाई ६० खर्ब ३८ अर्ब ९५ करोड रुपैयाँ दिएका छन् ।

भदौ २ गतेयता अहिलेसम्म राष्ट्र बैंकले पाँच पटकसम्म निक्षेप सङ्कलन उपकरण बिक्री गरी प्रणालीबाट दुई खर्ब १९ अर्ब ४५ करोड रुपैयाँ प्रशोचन गरेको छ । भदौ २६ गते राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न निक्षेप सङ्कलन उपकरण बोलकबोल गरेको थियो । तर, बैंकहरूले जम्मा नौ अर्ब पाँच करोड रुपैयाँ दिए । अधिक तरलताको अवस्था भए पनि बैंकहरूले राष्ट्र बैंकले मागेजति पैसा दिएनन् ।

राष्ट्र बैंकले भदौ २ गते प्रणालीबाट तानेको एक खर्ब रुपैयाँ भदौ २३ गते बैंकहरूलाई फिर्ता दिइसकेको छ । बाँकी पैसाको परिपक्व अवधि आउन बाँकी नै छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x