Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूको निष्क्रिय कर्जा करिब दुई खर्ब पुग्यो

बैंकहरूको निष्क्रिय कर्जा करिब दुई खर्ब पुग्यो


काठमाडौँ । बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा रकम झण्डै दुई खर्ब रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा संस्थाहरूले कुल ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ८६ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । जुन एक खर्ब ९९ अर्ब ३७ करोड ४१ लाख ७२ हजार चार सय रूपैयाँ हुन्छ ।

बैंकिङ क्षेत्रमा देखिएको यो निष्क्रिय कर्जा गत आर्थिक वर्षको साउन मसान्तको तुलनामा ५२ अर्ब ६८ करोड ८७ लाख २५ हजार छ सय रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४८ खर्ब ५७ करोड १३ लाख ४० हजार रूपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव शून्य दुई प्रतिशतका दरले हुने एक खर्ब ४६ अर्ब ६८ करोड ५४ लाख ४६ हजार आठ सय रूपैयाँबराबर निष्क्रिय कर्जा थियो । राष्ट्र बैंकका अनुसार गत साउन महिनासम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा एक खर्ब ७१ अर्ब ६५ करोड ६७ लाख ४६ हजार चार सय रूपैयाँ छ । यस अवधिमा वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ६५ अर्ब ३९ करोड रूपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा देखिएको हो ।

वाणिज्य बैंकहरूमा देखिएको निष्क्रिय कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ अर्ब ६७ करोड ३१ लाख सात हजार रूपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब ९४ अर्ब ७५ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ९८ प्रतिशतका दरले हुनआउने एक खर्ब २७ अर्ब ९८ करोड ३६ लाख ३९ हजार चार सय रूपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

विकास बैंकहरूले भने चालू आर्थिक वर्षको पछिल्लो अवधिमा १८ अर्ब आठ करोड १७ लाख ९१ हजार चार सय रूपैयाँबराबरको निष्क्रिय देखिएको छ । यस अवधिमा विकास बैंकहरूले कुल चार खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६२ प्रतिशतका दरले हुनआउने उक्त परिमाणको कर्जा निष्क्रिय देखिएको हो । विकास बैंकहरूमा देखिएको यो कर्जा गत आवको सोही अवधिको तुलनामा छ अर्ब ३८ करोड ९४ लाख ९८ हजार रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले चार खर्ब ६९ अर्ब ५७ करोड रूपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ४९ प्रतिशतका दरले हुनआउने ११ अर्ब ६९ करोड २२ लाख ९३ हजार रूपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

फाइनान्स कम्पनीहरूमा भने चालू आर्थिक वर्षको साउन महिनासम्ममा नौ अर्ब ८९ करोड ९३ लाख १३ हजार नौ सय रूपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब २९ करोड ७० लाख रूपैयाँबराबरको कर्जा प्रवाह गर्दा नौ दशमलव ८७ प्रतिशतका दरले हुनआउने उक्त परिमाणको कर्जा निष्क्रिय देखिएको हो । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ८४ करोड ५७ लाख ५३ हजार नौ सय रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९२ अर्ब ८१ करोड रूपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ६० प्रतिशतका दरले हुनआउने सात अर्ब पाँच करोड ३५ लाख ६० हजार रूपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x