Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी

एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी


काठमाडौँ । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउनसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी कुल चार खर्ब २५ अर्ब १२ करोड रुपैयाँ थियो । चालू आर्थिक वर्षको साउनसम्म बैंकहरूको चुक्ता पुँजी ११ अर्ब २८ करोड ८० लाख रुपैयाँले बढेर चार खर्ब ३६ अर्ब ४० करोड ८० लाख रुपैयाँ पुगेको छ ।

एक वर्षमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी नौ अर्ब १६ करोड ३० लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको साउन मसान्तसम्म तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ रहेकोमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी अहिले बढेर तीन खर्ब ७९ अर्ब २० करोड रुपैयाँ पुगेको छ । विकास बैंकहरूको चुक्ता पुँजी गत साउनमा ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ९६ करोड ४० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको चुक्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी गत साउनमा १५ अर्ब २१ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा १६ करोड १० लाख रुपैयाँ बढी हो । एक वर्षअघि साउनमा १५ अर्ब पाँच करोड ६० लाख रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या छ हजार चार सय ८६ पुगेको छ । जुन एक वर्षअघि साउनको तुलनामा ४५ वटा बढी हो । गत वर्ष साउनमा कुल शाखा संख्या छ हजार चार सय ४१ थियो । चालू आर्थिक वर्षको साउन मसान्तसम्म बैंकिङ क्षेत्रमा कायम रहेको कुल शाखा संख्यामध्ये वाणिज्य बैंकहरूको पाँच हजार ६३, विकास बैंकहरूको एक हजार एक सय ३५ र फाइनान्स कम्पनीहरूको दुई सय ८८ वटा रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको पाँच हजार २१, विकास बैंकहरूको एक हजार एक सय ३१ र फाइनान्स कम्पनीहरूको दुई सय ८९ वटा शाखाहरू सञ्चालनमा थिए ।

एक वर्षअघि बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित)को कुल संख्या एक सय १२ वटा थिए । जसमध्ये वाणिज्य बैंक २०, विकास बैंक १७, फाइनान्स कम्पनी १७, लघुवित्त वित्तीय संस्था ५७ र पूर्वाधार विकास बैंक एउटा थिए । यस वर्ष साउनसम्म यस्तो संख्या घटेर एक सय सातवटामा झरेको छ । जसमध्ये वाणिज्य बैंक २०, विकास बैंक १७, फाइनान्स १७, लघुवित्त वित्तीय संस्था ५२ र पूर्वाधार विकास बैंक एउटा सञ्चालनमा छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x