Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकसरी बढ्यो बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति ?

कसरी बढ्यो बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति ?


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति बढ्ने क्रम रोकिएको छैन । अर्थतन्त्र सहज भएको बेला बैंकहरूले ठूलो परिमाणमा कर्जा प्रवाह गरेका थिए । तर, दुई वर्षदेखि अर्थतन्त्रमा शिथिलता देखिँदा कर्जा असुलीमा समस्या भएको थियो । लामो समयसम्म कर्जाको साँवाब्याज असुलउपर गर्न नसकेको अवस्थामा सो कर्जालाई निष्क्रिय कर्जामा वर्गीकरण गर्नुपर्छ र पछि खराब कर्जामा राख्नुपर्छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको लागि ३५ दिने २१ दिने, १४ दिने र सात दिने सार्वजनिक सूचना जारी गर्नुपर्छ । त्यसपछि पनि सम्पत्ति लिलामी गरी बोलकबोलमार्फत बिक्री गर्नुपर्छ । तर, त्यस्तो सम्पत्ति बिक्री हुन सकेन भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफैँले सकार गर्नुपर्छ । त्यही सम्पत्ति गैरबैंकिङ सम्पत्तिको रुपमा रहन्छ । वित्तीय स्वास्थको दृष्टिकोणले धेरै गैरबैंकिङ सम्पत्ति हुनु राम्रो होइन । गैरबैकिङ सम्पत्तिसलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो स्वप्रयोजनको लागि बाहेक अन्य क्षेत्रमा उपयोग गर्न पाइँदैन । त्यसलाई पुनः बिक्री गरेर नगदमा रुपान्तरण गर्नुपर्ने हुन्छ । तर, अहिले अर्थतन्त्र सुस्त रहेको बेला बैंकहरूले त्यस्तो सम्पत्तिलाई नगदमा रुपान्तरण गर्न सम्भव छैन । बिक्री आह्वान गरेकै भरमा अहिले धितोमा रहेको घरजग्गा बिक्री हुने अवस्था छैन ।

गत साउनसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ छ । यस्तै निष्क्रिय कर्जा तीन दशमलव ८६ प्रतिशत छ । यस्तै गैरबैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड ५० लाख रुपैयाँबराबर छ । यो सम्पत्ति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ अर्ब ८२ करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकिङ क्षेत्रले कुल ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव शून्य दुई प्रतिशत निष्क्रिय कर्जा थियो भने गैरबैंकिङ सम्पत्ति १९ अर्ब नौ करोड ६० लाख रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरूले ४५ खर्ब ६५ अर्ब ३३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गैरबैकिङ सम्पत्ति ३१ अर्ब ३६ करोड ३० लाख रुपैयाँ छ । यो सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब २६ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब ९४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा दुई दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय थियो भने गैरबैंकिङ सम्पत्ति १५ अर्ब ५१ करोड ४० लाख रुपैयाँबराबर थियो ।

विकास बैंकहरूले गत साउनसम्म चार खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६२ प्रतिशत निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति तीन अर्ब ५९ करोड ३० लाख रुपैयाँ छ । गत वर्ष साउनको तुलनामा गैरबैंकिङ सम्पत्ति एक अर्ब २० करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विकास बैंकहरूले कुल चार खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो भने दुई अर्ब ३८ करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।

फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको पहिलो एक महिनासम्ममा एक खर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा नौ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ भने गैरबैंकिङ सम्पत्ति एक अर्ब ९६ करोड ९० लाख रुपैयाँ देखिएको छ । यो सम्पत्ति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो भने गैरबैंकिङ सम्पत्ति एक अर्ब १९ करोड २० लाख रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x