Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघट्यो बैंकहरूको निक्षेप सङ्कलन

घट्यो बैंकहरूको निक्षेप सङ्कलन


काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन घटेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन शून्य दशमलव सात प्रतिशत अर्थात् ४३ अर्ब ४५ करोड रुपैयाँले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब ३३ अर्ब २४ करोड रुपैयाँले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव नौ प्रतिशतले बढेको छ ।

२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच प्रतिशत, ३० दशमलव तीन प्रतिशत र ५७ दशमलव पाँच प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच प्रतिशत, २६ दशमलव सात प्रतिशत र ६१ दशमलव तीन प्रतिशत थियो । २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशलव नौ प्रतिशत छ । २०८० साउन मसान्तमा यस्तो निक्षेपको अंश ३५ दशमलव दुई प्रतिशत थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव तीन प्रतिशत अर्थात् १४ अर्ब ११ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव एक प्रतिशत अर्थात् चार अर्ब ३५ करोड रुपैयाँले घटेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव दुई प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव चार प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव छ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत थियो ।

चालू आर्थिक वर्षको पछिल्लो एक महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव तीन प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह एक दशमलव एक प्रतिशतले बढेको छ । विकास बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव तीन प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुुसार २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये १३ दशमलव तीन प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६६ दशमलव तीन प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव एक प्रतिशत र ६७ दशमलव एक प्रतिशत थियो ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य पाँच प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा शून्य दशमलव एक प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा एक दशमलव छ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा शून्य दशमलव छ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा शून्य दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो एक महिनामा निर्माण क्षेत्रतर्फको कर्जा शून्य दशमलव चार प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा शून्य दशमलव दुई प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा शून्य दशमलव तीन प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा एक दशमलव पाँच प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा नौ दशमलव चार प्रतिशतले, हायर पर्चेज कर्जा शून्य दशमलव शून्य तीन प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) शून्य दशमलव एक प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा तीन प्रतिशतले र नगद प्रवाह कर्जा शून्य दशमलव दुई प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x