Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपर्यटन क्षेत्रमा बैंकहरूको लगानी बढ्यो

पर्यटन क्षेत्रमा बैंकहरूको लगानी बढ्यो

कुल दुई खर्ब ३६ अर्ब कर्जा प्रवाह


काठमाडौं । पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाएका छन् । विगत दुई वर्षयता अर्थतन्त्र सुस्त हुँदा अन्य क्षेत्रमा कर्जा विस्तार न्यून भए पनि पर्यटनसँग सम्बन्धित क्षेत्रमा बढेको देखिएको छ । विदेशी पर्यटक आवागमन बढेको र आन्तरिक पर्यटन पनि बढ्दै गएकाले होटल तथा रेस्टुरेन्ट, ट्राभल एजेन्सी, हस्तकलाजन्य उद्योगको व्यापार राम्रै भयो । यही कारण पर्यटनसँग सम्बन्धित उद्योग व्यवसायहरूमा बैंकहरूको लगानी पनि बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले पर्यटकीय सेवासँग सम्बन्धित उद्योग व्यवसायमा कुल दुई खर्ब ३६ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षकोे सोही अवधिको तुलनामा २२ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बढी हो । गत वर्ष साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा दुई खर्ब १३ अर्ब ९३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकहरूले कुल कर्जा प्रवाहको चार दशमलव ५७ प्रतिशित पर्यटन क्षेत्रमा प्रवाह गरेको देखिन्छ । गत साउनसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ६५ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान सात प्रतिशत हाराहारी छ ।

पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएको सुधारले पनि बैंकहरूलाई लगानी बढाउन प्रेरित गरेको छ । खासगरी कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रमा धेरै पूर्वाधारहरू निर्माण भएका छन् । पाँचतारे होटल, केबुलकारलगायतका पूर्वाधार धमाधम बनिरहेका छन् । जसले गर्दा बैंकहरूको ऋण लगानी यस क्षेत्रमा बढेको देखिन्छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनसम्म पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरूले मात्रै दुई खर्ब तीन अर्ब ८२ करोड ९० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । जुन एक वर्षअघिको तुलनामा १८ अर्ब ८९ करोड ६० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा एक खर्ब ८४ अर्ब ९३ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए । विकास बैंकहरूले पनि गत साउनसम्म पर्यटन क्षेत्रमा २७ अर्ब छ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा दुई अर्ब ७५ करोड रुपैयाँ बढी हो । गत वर्ष साउनमा विकास बैंकहरूले २४ अर्ब ३१ करोड रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले गत साउनसम्म पर्यटन क्षेत्रमा पाँच अर्ब ३९ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७० करोड रुपैयाँ बढी हो । गत वर्ष साउनमा चार अर्ब ६९ करोड ३० लाख रुपैयाँ लगानी गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x