Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुनचाँदी धितोमा ६० अर्ब कर्जा प्रवाह

सुनचाँदी धितोमा ६० अर्ब कर्जा प्रवाह


काठमाडौं । विश्वबजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । गत साता अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस करिब २७ सय डलर पुगेको सुन आइतबार साँझसम्म २६ सय ६७ डलर कायम छ । रुस–युक्रेन र मध्यपूर्वमा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै गएको छ ।

यस्तै विश्वभर शक्तिशाली मुलुकबीच भू–राजनीतिक द्वन्द्व चर्किँदै जाँदा चीन, भारतलगायत ठूला देशका केन्द्रीय बैंकले सुन भण्डारण बढाउँदै लगेका छन् । चीनको केन्द्रीय बैंकले करिब १७ दशमलव छ टन सुन खरिद गरेर आफ्नो भण्डारण बढाउँदै लगेको छ । यही कारण पनि विश्वबजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँ कायम भएको छ । चाँदीका मूल्य पनि प्रतितोला एक हजार नौ सय ५० रुपैयाँ पुगेको छ ।

सुनका गहना बनाउँदा केही निश्चित प्रतिशत ज्याला र जर्ती जोड्ने भएकाले बजारमा एक तोला सुनको गहना किन्दा एक लाख ७५ हजार रुपैयाँ हाराहारी पुग्ने व्यवसायीहरू बताउँछन् ।

मूल्य बढ्दै जाँदा सुनमा बैंकहरूको लगानी पनि बढेको छ । बैंकहरूले सुन धितोमा दिने कर्जाको आकार बढ्दै गएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८१ साउन मसान्तसम्म ६० अर्ब २१ करोड ६० लाख रुपैयाँ कर्जा सुन धितो राखेर प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा छ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा प्रवाह गरेको यस्तो कर्जा ५३ अर्ब ३१ करोड ९० लाख रुपैयाँ थियो ।

वाणिज्य बैंकहरूले मात्रै सुनचाँदी धितोमा गत साउनसम्म ५५ अर्ब सात करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत वर्ष साउन महिनासम्मको तुलनामा छ अर्ब ७१ करोड २० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म वाणिज्य बैंकहरूले सुनचाँदी धितो लिएर ४८ अर्ब ३६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले गत साउनसम्म तीन अर्ब ९७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा सात करोड १० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म विकास बैंकहरूले सुनचाँदी धितोमा तीन अर्ब ९० करोड ६० लाख रुपैयाँ कर्जा दिएका थिए ।

फाइनान्स कम्पनीहरूले भने सुनचाँदी धितोमा एक अर्ब १६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत वर्ष साउनसम्मको तुलनामा ११ करोड ५० लाख रुपैयाँले बढी हो । गत वर्ष साउन महिनासमम फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा एक अर्ब चार करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकहरूले सुनचाँदी धितोमा दिने कर्जा बढेको छ । तर, बजारमा सुन महँगो बन्दै जाँदा बिक्री भने घटेको छ । व्यवसायीहरूले दशैँको समयमा पनि सुनचाँदीको कारोबार न्यून भएको बताएका छन् । महँगीले उपभोक्ताको क्रयशक्ति घटेका बेला सुनको मूल्य पनि बढ्न गएपछि बिक्री घटेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x