Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचाडपर्वका लागि राष्ट्र बैंकले बढायो वालेटमा डिजिटल कारोबारको सीमा

चाडपर्वका लागि राष्ट्र बैंकले बढायो वालेटमा डिजिटल कारोबारको सीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वमा आम सेवाग्राहीलाई सहुलियत दिँदै वालेट कारोबारको सीमा बढाएको छ । राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त सम्पूर्ण संस्थाहरूको नाउँमा परिपत्र जारी गर्दै तत्कालको लागि वालेटमार्फत हुने कारोबारको सीमा बढाउन निर्देशन दिएको हो ।

निर्देशनअनुसार भुक्तानी प्रदायक सेवा कम्पनीहरूले प्रतिग्राहक एक दिनको लागि ३० पटकसम्मको वालेट कारोबारको सुविधा दिनुपर्नेछ । यससम्बन्धी परिपत्रमा राष्ट्र बैंकले भनेको छ, ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको अ.प्रा. निर्देशन नं. ५/०८० को बुँदा नं. ३(२) मा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा दशैँको अवसरमा असोज २१ देखि मिति कात्तिक १ गतेसम्म र तिहार तथा छठ पर्वको अवसरमा कात्तिक १५ गतेदेखि २२ गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो । कारोबारको संख्या र कारोबारको रकम विभागलाई जानकारी गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ । यो व्यवस्थाअनुसार ग्राहकहरूले यही कात्तिक २२ सम्म एक दिनमा वालेटमा बढीमा ३० पटकसम्म रकम जग्मा गर्नसक्ने सुविधा पाउनेछन् ।

यसैबीच राष्ट्र बैंकले सोही दिन एक दिन सार्वजनिक सूचना जारी गर्दै स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्री मूल्य कायम गरेको जानकारी दिएको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सिक्काको नयाँ बिक्री मूल्य कायम गरेको हो ।

सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको मिति २०८१ असोज १४ गतेको निर्णयबाट यस टक्सार महाशाखाबाट बिक्री भइरहेको स्मारिका सिक्का तथा मेडालियनको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ को दफा १२(घ) बमोजिम देहायबमोजिम पुनर्मूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो पटक कायम गरिएको नयाँ बिक्री मूल्यमा लक्ष्मी मेडालियनको १० ग्रामको सिक्काको बिक्री मूल्य दुई हजार रुपैयाँ कायम गरिएको छ । यसअघि यसको बिक्री मूल्य एक हजार आठ सय रुपैयाँ तोकिएको थियो । यसैगरी गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको प्रति १० ग्रामको सिक्काको बिक्री मूल्य पनि दुई हजार रुपैयाँ कायम गरिएको छ । यसअघि यी दुवै सिक्काको प्रति १० ग्रामको सिक्काको बिक्री मूल्य एक हजार हजार आठ सय रुपैयाँ नै तोकिएको थियो ।

राष्ट्र बैंकका अनुसार टक्सार यन्त्रीकरणको प्रति १५ ग्रामको सिक्काको नयाँ बिक्री मूल्य चार हजार एक सय रुपैयाँ तोकिएको छ । यसअघि यस्तो सिक्काको बिक्री मूल्य तीन हजार आठ सय रुपैयाँ तोकिएको थियो । यसैगरी सार्क प्रुफ सिक्काको प्रति २५ ग्रामको बिक्री मूल्य सात हजार रुपैयाँ तोकिएको छ । यसअघि यस्तो सिक्काको बिक्री मूल्य छ हजार पाँच सय रुपैयाँ तोकिएको थियो ।

गाई मेडालियनको १० ग्रामको बिक्री मूल्य पनि दुई हजार रुपैयाँ तोकिएको छ । यसअघि यस्तो सिम्काको बिक्री मूल्य एक हजार आठ सय रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार श्री ५ ज्ञानेन्द्र राज्यारोहणको सिक्काको बिक्री मूल्य पनि सात हजार आठ सय ५० रुपैयाँ तोकिएको छ । यसअघि यस्तो सिक्काको बिक्री मूल्य सात हजार दुई सय रुपैयाँ तोकिएको थियो ।

निर्यात वर्षको सिक्काको बिक्री मूल्य पनि चार हजार आठ सय रुपैयाँ तोकिएको छ । यसअघि यस्तो सिक्काको बिक्री मूल्य चार हजार तीन सय ४० रुपैयाँ तोकिएको थियो । सयुक्त राष्ट्रसंघ ५० वर्षको सिक्काको बिक्री मूल्य पनि चार हजार आठ सय रुपैयाँ तोकिएको छ । यसअघि यस्तो सिक्काको बिक्री मूल्य चार हजार चार सय रुपैयाँ तोकिएको थियो ।

यसैगरी राष्ट्र बैंक स्वर्ण वर्षको बिक्री मूल्य पनि सात हजार सात सय रुपैयाँ कायम गरिएको छ । यसअघि यस्तो सिक्काको बिक्री मूल्य सात हजार रुपैयाँ तोकिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x