Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूले दुई महिनामा कमाए १७ अर्ब ६९ करोड

बैंकहरूले दुई महिनामा कमाए १७ अर्ब ६९ करोड


काठमाडौं । वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख १० हजार रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा २० वटा वाणिज्य बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव २७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुुसार यस वर्ष दुई महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । यस अवधिमा नबिलको नाफा एक अर्ब ६६ करोड आठ लाख ९० हजार रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलको यस्तो नाफा एक अर्ब ५६ करोड ४५ लाख ५० हजार रुपैयाँ थियो । धेरै नाफा कमाउने बैंकहरूको सूचीको दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक छ ।

ग्लोबलले एक अर्ब ५६ करोड ६१ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । एक वर्षअघि ग्लोबलको नाफा एक अर्ब ७५ करोड ५८ लाख ६० हजार रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले पनि एक अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४८ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । यसैगरी हिमालयन बैंकले पनि गत साउन र भदौमा एक अर्ब १६ करोड ८१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा हिमालयनले एक अर्ब २३ करोड २४ लाख ८० हजार रुपैयाँ कमाएको थियो । कुमारी बैंकले पनि चालू आर्थिक वर्षको पछिल्लो अवधिमा एक अर्ब आठ करोड ५० लाख आठ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुमारीको यस्तो नाफा एक अर्ब १४ करोड ५३ लाख २० हजार रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार यी पाँचवटाबाहेक अन्य वाणिज्य बैंकहरूको नाफा भने एक अर्ब रुपैयाँभन्दा तल रहेको छ । नेपाल बैंकको नाफा ६७ करोड ८२ लाख २० हजार रुपैयाँ छ । राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३० लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल बैंकले ७० करोड ७१ लाख ४० हजार रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड पाँच लाख १० हजार रुपैयाँ कमाएकोे थियो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म स्टान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकले क्रमशः ६० करोड ६२ लाख ९० हजार र ५३ करोड ३९ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः ४८ करोड ४५ लाख २० हजार र २७ करोड २९ लाख ७० हजार रुपैयाँ थियो ।

एभरेष्ट बैंक, एनआईसी एसिया र माछापुच्छ्रे बैंकले क्रमशः ८२ करोड ५५ लाख ४० हजार, ५७ करोड ७५ लाख ८० हजार र ३९ करोड २४ लाख ७० हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी तीनवटा बैंकहरूको नाफा क्रमशः ७१ करोड २५ लाख ९० हजार, ८० करोड पाँच लाख ५० हजार र ३७ करोड ६३ लाख ८० हजार रुपैयाँ थियो । लक्ष्मी सनराइज, सिद्धार्थ र कृषि विकास बैंकले चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा क्रमशः ८६ करोड ४६ लाख, ६० करोड ५६ लाख ७० हजार र ८८ करोड ७० लाख आठ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने यी बैंकहरूको यस्तो नाफा क्रमशः ८१ करोड ४० लाख नौ हजार, ५८ करोड ६५ लाख ८० हजार र ६१ करोड ५६ लाख ३० हजार रुपैयाँ थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्सियल र एनएमबी बैंकले क्रमशः ५८ करोड ९८ लाख ६० हजार, ९७ करोड ४६ लाख ९० हजार र ७८ करोड दुई लाख १० हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः ४४ करोड ३१ लाख ७० हजार, ६३ करोड ६५ लाख ५० हजार र ७६ करोड ७० लाख तीन हजार रुपैयाँ कमाएका थिए । प्रभु र सानिमा बैंकले पनि चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा क्रमशः ९१ करोड ३२ लाख ५० हजार र ६८ करोड ९२ लाख ८० हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने प्रभु बैंकले ६६ करोड ४१ लाख ७० हजार रुपैयाँ नाफा कमाउँदा सानिमा बैंकले ५१ करोड २० लाख नौ हजार रुपैयाँ नाफा कमाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x