Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघट्यो बैंकहरूबीचको कारोबार

घट्यो बैंकहरूबीचको कारोबार

दुई महिनाको अन्तरबैंक कारोबार लगभग दुई खर्ब


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबीच अल्पकालीन अवधिको लागि हुने पारस्परिक कारोबार अर्थात् अन्तरबैंक कारोबार घटेको छ । प्रणालीमा निक्षेप बढ्दै गएको तर कर्जाको विस्तार न्यून हुँदा अधिक तरलता छ । बैंकमा पैसा थुप्रिएपछि बैंकहरूबीच हुने कारोबारमा पनि कमी आएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा एक खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ । जसमध्ये वाणिज्य बैंकहरूले एक खर्ब ९० अर्ब १० करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूले तीन अर्ब ६० करोड रुपैयाँबराबरको कारोबार गरेका छन् ।

राष्ट्र बैंकका अनुसार यो कारोबार रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै आठ खर्ब रुपैयाँले कम हो । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकले नौ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले एक खर्ब ५६ अर्ब ३८ करोड गरी कुल १० खर्ब ८० अर्ब ८० करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।

राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा पाँच दशमलव ८८ प्रतिशत रहेकोमा २०८१ भदौमा तीन प्रतिशत छ । २०८१ भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर सात दशमलव ४९ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव १५ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव ६५ प्रतिशत छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव १४ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव १२ प्रतिशत र फाइनान्स कम्पनीहरूको १३ दशमलव ५२ प्रतिशत थियो । २०८१ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव ५३ प्रतिशत, विकास बैंकहरूको छ दशमलव ३१ प्रतिशत र फाइनान्स कम्पनीहरूको सात दशमलव ५५ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार २०८० भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव शून्य छ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव ४३ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव २७ प्रतिशत थियो । त्यसैगरी, २०८१ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर नौ दशमलव ५२ प्रतिशत, विकास बैंकहरूको १० दशमलव ८९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव १४ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव २३ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ९९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव ६८ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । २०८० भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर पाँच दशमलव ९५ प्रतिशत रहेकोमा २०८१ भदौमा दुई दशमलव ८९ प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x