Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रो फाइनान्स १३औँ वर्षमा प्रवेश

मेरो माइक्रो फाइनान्स १३औँ वर्षमा प्रवेश


काठमाडौं । मेरो माइक्रो फाइनान्स १२औँ वर्ष पार गरी १३ औँ वर्षमा प्रवेश गरेको छ । संस्था स्थापनाको १२ वर्षअघि नुवाकोटको बट्टारमा राष्ट्रियस्तरको लघुवित्तको रूपमा स्थापना भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली, रणनीति, ग्राहकहरूको अगाध माया, अटुट विश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यहरूको भरोसा, कर्मचारीको अतुलनीय योगदान तथा शुभचिन्तकहरूप्रति कृतज्ञता प्रकट गर्दै संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरूमा अब्बल संस्थाको रूपमा पहिचान बनाउन सफल रहेकोमा खुसी व्यक्त गरे ।

संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरूमा वित्तीय पहुँच पुर्याएको संस्थाले बाह्रौं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा एक सय ४९ शाखा सञ्जालमार्फत एक लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको छ । त्यसैगरी हालसम्म तीन अर्ब ४० करोड रूपैयाँ बराबर निक्षेप संकलन गरी १५ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

सात वटा वाणिज्य बैंक र एउटा विकास बैंकबाट संयुक्तरूपमा प्रवर्द्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित संस्थाले ग्राहक सुहाउँदो विभिन्न किसिमका बचत तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ विनाधितो, सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरूका साथै, बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैंकिङलगायतका सेवा प्रदान गरिरहेको छ ।

संस्थाले यसरी आफ्नो कारोबार वृद्धि गर्दै जाँदा पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न आठ वटा विभाग, सात वटा प्रदेशस्तरीय प्रादेशिक कार्यालय तथा १९ वटा अनुगमन स्टेसनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल रहेको संस्थाले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x