Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूले घटाए ब्याजदर

बैंकहरूले घटाए ब्याजदर


काठमाडौं । निक्षेप बढ्दै गएको तर कर्जा विस्तार न्यून हुँदा बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले सङ्कलन गरेको निक्षेप ५८ खर्ब ९१ अर्ब पुगेको छ भने कर्जा प्रवाह ४६ खर्ब ७३ अर्ब रुपैयाँ छ । यस आधारमा प्रणालीमा १२ खर्ब १८ अर्ब रुपैयाँ तरलता छ । बैंकहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर, अहिलेसम्म ७८ दशमलव ३२ प्रतिशत मात्रै लगानी गरेको स्थिति छ । यस आधारमा अझै छ खर्ब २९ अर्ब रुपैयाँ लगानीयोग्य पैसा प्रणालीमा छ ।

क्षमता भए पनि कर्जा प्रवाह हुनसक्ने अवस्था छैन । बजारमा नयाँ कर्जाको माग नै न्यून भएकाले बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको देखिन्छ । तरलता धेरै भएपछि राष्ट्र बैंकले अल्पकालीन अवधिको उपकरण जारी गरेर प्रणालीबाट पैसा तानिरहेको छ । निक्षेप बढ्दै जाने तर कर्जाको माग नहुने स्थिति बनेपछि बैंकहरूले ब्याजदर घटाएर कर्जा आकर्षित गर्न र निक्षेप निरुत्साहित गर्न खोजिरहेका छन् । बैंकहरूले मंसिर महिनाका लागि निक्षेपमा दिने ब्याजदर घटाएका छन् । मंसिर महिनाको लागि निक्षेपको औसत ब्याजदर पाँच दशमलव ९९ प्रतिशत कायम भएको छ । जुन कात्तिक महिनाको तुलनामा शून्य दशमलव २२ प्रतिशत कम हो । कात्तिक महिनामा वाणिज्य बैंकहरूले निक्षेपको औषत ब्याजदर छ दशमलव १८ प्रतिशत थियो । वाणिज्य बैंकहरूमा कात्तिक महिनामा कायम रहेको ब्याजदर पनि असोज महिनाको तुलनामा शून्य दशमलव २१ प्रतिशतले कम हो । असोज महिनामा वाणिज्य बैंकहरूको औसत ब्याजदर छ दशमलव ३९ प्रतिशत थियो ।

मंसिर महिनाका लागि १० वटा बैंकहरूले ब्याजदर घटाएका छन् । आठवटा बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने ब्याजदर बढाएको छ । कात्तिक महिनामा पाँच दशमलव आठ प्रतिशत ब्याज दिएको राष्ट्रिय वाणिज्य बैंकले मंसिर महिनाको लागि ब्याज बढाएर छ प्रतिशत तोकेको छ । यसैगरी स्टान्डर्ड चार्टड बैंकले पनि कात्तिकको लागि छ दशमलव पाँच प्रतिशत ब्याज दिएकोमा मंसिरको लागि यस्तो ब्याज घटाएर पाँच दशमलव २५ प्रतिशत तोकेको छ । मंसिर महिनाको लागि नबिल, माछापुच्छ्रे एनआईसी एसिया, लक्ष्मी सनराइज, एनएमबी, ग्लोबल आईएमई, सिटिजन्स, कृषि विकास, कुमारी र प्राइम कमर्सियल बैंकले भने कात्तिकको तुलनामा ब्याज घटाएका छन् । यी बैंकहरूले क्रमशः पाँच दशमलव ७५, छ, छ दशमलव ७९, पाँच दशमलव ७५, पाँच दशमलव ७५, पाँच दशमव ७५, पाँच दशमलव ७५, पाँच दशमलव ६५, पाँच दशमलव ५३, पाँच दशमलव ९१ र पाँच दशमलव ७५ प्रतिशत ब्याजदर तोकेका छन् । कात्तिक महिनाको लागि यी बैंकहरूको क्रमशः छ दशमलव २५, सात, छ दशमलव ९९, छ, छ दशमलव पाँच, छ दशमलव २५, पाँच दशमलव ७५, पाँच दशमलव ७५, छ दशमलव शून्य एक र छ प्रतिशत ब्याज दिएका थिए ।

नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट, सिद्धार्थ, सानिमा, नेपाल बैंक र प्रभु बैंकले भने मंसिर महिनामा पनि कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी बैंकहरूले ब्याजदर मंसिर महिनाको लागि क्रमशः छ दशमलव पाँच, छ दशमलव २५, छ, छ, छ, छ दशमलव १५, पाँच दशमलव ९५ र छ दशमलव एक प्रतिशत कायम गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x