Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने

राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१मा ७३ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको वार्षिक प्रतिवेदनमा सो आम्दानी गर्न सफल भएकोे उल्लेख छ । जुन आर्थिक वर्ष २०७९/८०को तुललनामा २१ दशमलव ९६ प्रतिशत बढी हो ।

राष्ट्र बैंकले आफ्नो आम्दानीबाट सरकारलाई ३७ अर्ब २२ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले खुद मुनाफाबाट आवश्यक कोषहरूमा राख्नुपर्ने रकम छुट्याएर बाँकी रकम सरकारलाई उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।

यस्तै सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले बढेर २० खर्ब ६७ अर्ब दुई करोड ४३ लाख ७८ हजार रुपैयाँबराबर कायम भएको छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चालू खाता दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर कायम भएको छ । विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको र सङ्कुचित मुद्राप्रदाय एक दशमलव तीन प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा छ दशमलव एक प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी छ दशमलव एक प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत कुल ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कुल आठ खर्ब आठ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा एक अर्ब २० करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकको कुल सम्पत्ति÷दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड रुपैयाँ, विकास बैंकको सात दशमलव नौ प्रतिशतले वृद्धि भई सात खर्ब १७ अर्ब रुपैयाँ र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई एक खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाको कुल सम्पत्ति÷दायित्व एक दशमलव तीन प्रतिशतले घटेर पाँच खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लिखित सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रियस्तरका विकास बैंकले ‘क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५’ अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा÷सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्यरूपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड ९० लाखबराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएका थिए । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा कुल छ खर्ब ९० अर्ब १५ करोडबराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा छन् ।

गत आर्थिक वर्षमा १० अर्ब २९ करोडबराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोडबराबरको विदेशी ऋणको लेखांकन भएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनअनुसार विश्व आर्थिक वृद्धिदर सन् २०२४ र सन् २०२५ मा तीन दशमलव दुई प्रतिशत रहने प्रक्षेपण छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x