Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग

कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग


काठमाडौं । कृषि विकास बैंकको मेलम्ची शाखाले सहयोग हस्तान्तरण गरेको छ । समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरूमार्फत सम्पन्नदेखि विपन्न वर्गसम्मलाई कृषि तथा अन्य व्यावसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गर्दै आएको बैंकको मेलम्ची शाखाले आफ्नो स्थापनाकाल २०४२ सालदेखि हालसम्म निरन्तर सेवा प्रवाह गरी रहेको छ ।

स्थानीयस्तरमा हुने सबैजसो कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको बैंकले मिति २०८१ साल मंसिर १० गते सम्पन्न एक कार्यक्रमबीच इलाका प्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सीसीटीभी वितरण गरेको छ । मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना, लागुऔषध सेवनलगायत विभिन्न वित्तीय अपराधजस्ता कार्यको निगरानी गर्र्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सीसीटीभी प्रदान गरेको हो । बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची बजारमा शान्ति सुरक्षा कायम गर्न सहज हुनेछ । बैंकका अनुसार यही मंसिर १० गते मेलम्ची शाखामा एक कार्यक्रम आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरिएको हो । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उप–महाप्रबन्धक, बागमती प्रदेश निर्देशक, मेलम्ची शाखाका प्रबन्धक प्रज्वल भट्टराईलगायतको उपस्थिति रहेको थियो भने इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक कुमार चौलागाईलगायत विभिन्न सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सीसीटीभी हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाउँदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ति सुरक्षा कायम राख्न ठूलो योगदान दिन सक्ने धारणा राखे । बैंकले यस क्षेत्रमा करिब एक अर्ब रुपैयाँ बरावरको कर्जा लगानी गरी विकट ग्रामीण क्षेत्रका जनताको कर्जा आश्यकता पूरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको व्यहोरा उल्लेख गरे । कृषि विकास बैंकजस्तो ग्रामिण भेगमा गएर खेतबारी धितोको आधारमा कर्जा दिने अन्य कुनै बैंक नरहेको विचार व्यक्त गर्दै बैंकबाट लिएको कर्जा समयमा नै भुक्तानी गर्न सामाजिक सचेतनाका लागि स्थानीय निकाय, प्रहरी, नागरिक समाज, राजनीतिक संघसंगठन आदिलाई अनुरोध गरे । उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुमार चौलागाईले उक्त सीसीटीभी ग्रहण गर्दै बैंकलाई धन्यवाद दिए । बैंकले गरको यस प्रकारको योगदान दीर्घकालसम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका उप–महाप्रबन्धक सुशील हुमागाईं, बागमती प्रदेश निर्देशक चन्द्र सिंह थापाको उपस्थिती थियो भने कार्यक्रम बैंकका प्रबन्धक प्रज्वल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x