Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा

मेगा बैंकको ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरूलाई प्राथमिकतामा राख्दै आजबाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुुन् ।

स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको मेगाले व्यावसायिक किसानहरूको समयानुकूल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । किसानहरूलाई सहजरूपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको बैंकले जनाएको छ ।

‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम बैंकिङ सुविधा हो,’ मेगा बैंककी सीईओ खुञ्जेलीले भनिन् ‘मेगा किसान कार्डमार्फत किसानहरूले आफूलाई आवश्यक पर्ने मलखाद, बीउबिजनलगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरू तोकिएका कृषि सेवा केन्द्रहरूबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मदत मिल्ने विश्वास पनि लिएका छौँ ।’

व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघिदेखि नै प्राथमिकता दिँदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरूको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ ।

किसानहरूको प्रवर्द्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरूलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ५२ करोड पाँच लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६२ करोड ९६ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुँजी १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब २७ अर्ब ८९ करोड ४६ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ६० करोड ४१ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब १७ करोड १० लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने बितरणयोग्य नाफा एक अर्ब ११ करोड ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ७८ अर्ब ६८ करोड ४८ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८६ करोड १३ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७९ करोड ५७ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ५९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया