Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १८ सय ७४ अंकमा

सेयर बजार परिसूचक १८ सय ७४ अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार पनि उकालो लागेको छ । यसदिन बजार परिसूचक ६४ दशमलव ५६ अंकले उकालो लागेर १८ सय ७४ दशमलव ६७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ९६ अंकले उकालो लागेर तीन सय ६२ दशमलव ३३ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९६ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ५७ हजार पाँच सय ३४ पटकको कारोबारमा एक करोड ८८ लाख ४६ हजार एक सय ८१ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम छ अर्ब ८१ करोड ७७ लाख ७४ हजार नौ सय ५४ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये होटल समूहको सूचक एक दशमलव दुई अंकले ओरालो लागेर दुई हजार ७४ दशमलव ८५ अंकमा झरेकोमा बाँकी समूहको सूचक भने उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ४० दशमलव चार अंकले उकालो लागेर १३ सय ९९ दशमलव ८१ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि २९ दशमलव १८ अंकले उकालो लागेर २१ सय ५२ दशमलव ६२ अंकमा चढेको छ ।

जलविद्युत समूहको सूचक पनि २४ दशमलव ७८ अंकले उकालो लागेर १४ सय ७० दशमलव ९९ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि एक सय छ दशमलव ८६ अंकले उकालो लागेर २८ सय ७५ दशमलव ८४ अंकमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक पनि तीन सय १६ दशमलव ६९ अंकले उकालो लागेर नौ हजार आठ सय ८५ दशमलव ७२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ९० दशमलव ४३ अंकले उकालो लागेर ११ हजार एक सय ४० दशमलव ६० अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष सूचक पनि क्रमशः एक सय ७९ दशमलव ९९, १५ दशमलव २८, तीन सय दशमलव ३३, ९५ दशमलव २१ र शून्य दशमलव १५ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ७८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएमबी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतले बढेर नौ सय ९० रुपैयाँमा सेयर किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको लक्ष्मी इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ६८ प्रतिशतले घटेर नौ रुपैयाँ ९५ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन पावर पार्टनरको सेयर मूल्य पनि दुई दशमलव ९४ प्रतिशतले घटेर दुई सय ३१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेसनल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा परेको नेको इन्स्योरेन्सको (संस्थापक) सेयरतर्फ एक सय रुपैयाँ अंकित मूल्यमा ४२ करोड २९ लाख ९८ हजार पाँच सय २५ रुपैयाँ २५ पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पनि प्रतिकित्ता १२ सय ७४ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ३८ लाख ८४ हजार आठ सय ८३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नबिल बैंक, नेपाल बैंक, प्रभु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया