Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाबीच सम्झौता


काठमाडौँ ।
पूर्वगृह र ऊर्जा तथा जलस्रोत मन्त्री तथा संघीय संसद्का सांसद जनार्दन शर्माको समुपस्थितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चौरजहारी नगरपालिका, रुकुम (पश्चिम) जिल्लाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार काठमाडौँमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरूको पाँच/पाँच जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरूलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्नेछ ।

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरूलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम दश लाख रुपैयाँसम्म सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ । समारोहमा सांसद शर्माले देश स्रोत साधनमा धनि हुँदाहुँदै पर्याप्त परिचालन नभएकाले गरिबीमा बस्नुपरेको हुँदा यो कर्जाले स्रोत साधनको परिचालनमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले विदेशीका धेरै विकासका मोडल देखेको तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलको रूपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बंगलादेशबाट सुरु भएको सामूहिक जमानीको आधारमा लगानी गरिने लघुवित्त कर्जा मोडल जस्तै सहुलियतपूर्ण कर्जा नेपालको लागि नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताए । उनले देशको उत्पादन वृद्धि तथा गरिबी न्यूनीकरणको लागि सहुलियतपूर्ण कर्जालाई नमूनाको रूपमा लैजान सके देशलाई छिटै समृद्धिसँग जोड्न सकिने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शीर्षकमा एक हजार छ सय ६० जनालाई एक अर्ब २८ करोड रुपैयाँभन्दा बढी विना धितो सहुलियतपूर्ण कर्जा लगानी गरिसकेको बताए । राष्ट्रिय वाणिज्य बैंकले मात्रै बैंकिङ क्षेत्रमा भएको सहुलियतपूर्ण कूल कर्जा लगानीको ५० प्रतिशतभन्दा बढी कर्जा लगानी गरिसकेको उनले बताए ।

नगरप्रमुख विशाल शर्माले नगरवासीको गरिबी न्यूनिकरण गरी जीवनस्तर उकास्न यो सहकार्य फलदायी हुने बताए । कार्यक्रममा राष्ट्रियसभाका माननीय सांसद ठगेन्द्र पुरी, कर्णाली प्रदेश सरकारका सल्लाहकार अर्थविद् डा. सुरेन्द्र उप्रेती, जिल्ला समन्वयन समिति, रुकुम (पश्चिम)का संयोजक राजकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, कम्पनी सचिव भोलानाथ पौडेल, अन्य कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया