Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको १४औं वार्षिक साधारणसभा

सिटिजन्स बैंकको १४औं वार्षिक साधारणसभा


काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ  । बैंकले सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुममार्फत १४ वार्षिक साधारणसभा सञ्चालन गरेको बैंकले जानकारी दिएको छ । सभामार्फत बैंकले आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आसार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आव २०७६/७७ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको छ । त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट आठ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ दशमलव १८ रुपैयाँबराबरको बोनस सेयर र तीन प्रतिशतका दरले हुुन आउने २७ करोड २६ लाख ८४ हजार पाँच सय १८ दशमलव ६९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्षले सेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको कामकारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्नसक्ने विश्वास सभालाई गराए । साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण महानुभावहरूले पु-याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे । बैंकले आर्थिक वर्ष २०७६/०७७ सम्ममा ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरी ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ  । सो अवधिमा बैंकले एक अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त संस्था तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेगरी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्यहरू अगाडि बढिरहेको समेत जनाएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ११ वटा शाखा, ९९ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकहरूलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डिम्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया