Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंकका अनुसार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सोमबार काठमाडौँमा सम्पन्न भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानीसम्बन्धी रहेको छ । सम्झौतापश्चात् टाटा कम्पनीका व्यापारिक सवारीसाधन खरिद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरूलाई सिप्रदी ट्रेडिङले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरूलाई बैंकले ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।

दोस्रोे सम्झौता निजी तथा व्यापारिक सवारी कर्जा लगानीसम्बन्धी रहेको छ । सम्झौतापछि टाटा कम्पनीका निजी तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङमार्फत खरिद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्नेछ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरूसँगको सहकार्य फलदायी हुने बताए । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुवै संस्थाको व्यवसाय वृद्धिमा सघाउ पुग्ने बताए । बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू विनयरमण पौडेल, पद्यमा लक्ष्मी जिसी, कम्पनी सचिव भोलानाथ पौडेल, सिप्रदी ट्रेडिङका भाइस प्रेसिडेन्ट सौरभ थपलिया, सेल्सप्रमुख सरद न्यौपानेलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया