Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक १४ वर्षमा प्रवेश

ग्लोबल आईएमई बैंक १४ वर्षमा प्रवेश


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ प्रस्तावित १४ प्रतिशत बोनसपश्चात् करिब २१ अर्बभन्दा बढी र सञ्चित कोष गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप दुई खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा दुई खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको दुई सय ६४ शाखा, दुई सय ४० एटीएम, दुई सय ४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउन्टर, एउटा सीडीएस क्लियरिङ काउन्टरसहित, २३ राजस्व कलेक्सन काउन्टर, तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब सात सय ९७ सेवाकेन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ । बैंकको १४औं वार्षिक उत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्न अझ सहज भएको कुरालाई जोड दिँदै मर्जर तथा प्राप्तिमा ग्लोबल आईएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर/एक्विजिसनपछि बैंकको पुँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव संसाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताए । उनले कोभिड–१९ को महामारीमा पनि बैंकहरूले आफ्ना ग्राहक तथा सेवाग्राहीहरूलार्ई निरन्तररूपमा सेवा दिएको बताउँदै यसले बैंक तथा वित्तीय संस्थाप्रति आमजनमानसको विश्वास बढेको बताए ।

‘कोभिड–१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवालाई सबैले सम्झिनेछन् । यसले बैंक व्यवसाय मात्र नभई आपत्विपत्को साथी र संकटको सारथी पनि हो भन्ने कुरालाई स्थापित गरेको छ’, उनले भने– ‘यसलाई हामीहरूले आफ्नो व्यवहार र सेवाले थप मजबुद र प्रस्ट पार्दै जानेछौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीहरूको संकटको सारथी बनेको बताए । ‘विश्व महामारीको अत्यन्तै जटिल र संकटको समयमा बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम निजी क्षेत्रले उठाउँदै आएको कर्जाको किस्ता र ब्याज तिर्ने समयसीमा बढाएर, ब्याजमा छुट दिएर निजी क्षेत्रको संकटको सारथी बनेर काम गरे । यसले हामी निजी क्षेत्र एकआपसमा मिलेर संकटको सामना गरियो भने पक्कै पनि भविष्यमा आइपर्ने सम्भावित संकटलाई परास्त गर्न वा त्यसको क्षति न्यून गर्न सकिन्छ भन्ने ज्ञान हामीले प्राप्त गरेका छौँ । संकटको समयमा फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश पनि हामीले पाएका छौँ ।’ उनले भने ।

आफ्नो शुभकामना सन्देशमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिसनपछि अहिले ग्लोबल आईएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बैंक बनेको बताए । ‘मर्जरपछि धेरैजसो सूचकहरूमा ग्लोबल आईएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रूपमा रहेको छ । यसलाई थप उचाइमा पु-याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ ।’ उनले भने ।

मर्जर र मर्जरपछिको व्यवस्थापनमा बैंक व्यवस्थापन केन्द्रित रहेको बताउँदै उनले अबका दिनमा बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रूपमा स्थापित गर्ने बताए । ‘मर्जरपछिका धेरै कामहरू अझै पनि बाँकी रहेका छन्’, प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले भने– ‘मर्जरको उचित व्यवस्थापन भइसकेपछि ग्लोबल आईएमई बैंक अहिलेको तुलनामा थप सबल र मजबुद बन्नेछ ।’ उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड नेपाललगायत विभिन्न नियमनकारी निकायहरू, ग्राहक वर्ग तथा सम्पूर्ण सेवाग्राहीहरूलाई बैंकप्रतिको निरन्तर साथ, सहयोग र विश्वासका लागि हार्दिक आभारसमेत व्यक्त गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया