Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकको ६०औं शाखा पोखराको तालचोकमा

राष्ट्रिय सहकारी बैंकको ६०औं शाखा पोखराको तालचोकमा


काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेले पोखराको तालचोकमा ६०औं शाखा विस्तार गरेको छ । बैंकका अनुसार सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उक्त शाखाको समुद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै जिसीले सहकारीहरूले सदस्यहरूलाई व्यावसायिकतामा केन्द्रित गराउने गरी योजना निर्माण गरेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

सहकारीमा आबद्ध सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सहकारीहरू प्रतिबद्ध भएर लाग्ने हो भने समग्र देशको उन्नति धेरै टाढा नभएको उनको भनाइ थियो । सहकारीमा आबद्ध सदस्यहरूको जीवनस्तरमा कस्तो परिवर्तन आयो भन्ने विषयमा सहकारी केन्द्रित हुनुपर्छ, नगरप्रमुख जिसीले भने–दशकौँसम्म सहकारीको सदस्य हुने तर जीवनस्तर जस्ताको तस्तै हुने अवस्थाको अन्त्य गर्नुपर्छ ।

विकासका लागि प्रविधिको प्रयोग अति आवश्यक रहेको भन्दै जिसीले सहकारी बैंकले आफ्ना सदस्यहरूमार्फत सहकारीकर्मीहरूलाई प्रविधिमैत्री बनाउन ध्यान दिन सुझाव दिए । सहकारी क्षेत्रमा पुँजी परिचालन प्रभावकारी रहेको र त्यसलाई उत्पादन तथा बजारीकरणमा केन्द्रीत गर्न सके देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु)ले सहकारी क्षेत्रको विकासका लागि सहकारी बैंकलाई वित्तीयरूपमा सक्षम बनाउँदै सहकारीहरूलाई व्यावसिकतातर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, पोखरा महानगर सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारी, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका उपाध्यक्ष अपिल कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरूले सहकारी क्षेत्रको एकमात्रै बैंकका रूपमा रहेको सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि कारोबारलगायतका कार्यमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षता, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले बैंकको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र आगामी योजनाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

राष्ट्रिय सहकारी बैंकले ४४ वटा शाखामार्फत सदस्य सहकारीहरूका बीच कारोबार गर्दै आएकोमा गत असारमा थप २४ वटा शाखा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको थियो । २४ मध्ये १६ वटा शाखा सञ्चालनमा आइसकेका र थप आठवटा शाखा सञ्चालनका लागि अन्तिम तयारी भैरहेको बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिए । तालचोकसहित गण्डकी प्रदेशमा आठवटा शाखा सञ्चालनमा रहेका र स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा सञ्चालन गर्ने तयारी रहेको जिसीले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया