मेगा बैंकको १३ दशमलव पाँच प्रतिशत लाभांश पारित
काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरूका लागि बोनस सेयरसहित १३ दशमलव पाँच प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा बुधबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव पाँच प्रतिशतले हुन आउने एक अर्ब ७३ करोड ८६ लाख ११ हजार सात सय ५१ रुपैयाँ ७९ पैसा लाभांश पारित गरेको हो ।
त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने एक अर्ब ३३ करोड २२ लाख ६९ हजार पाँच सय ४१ रुपैयाँ ६१ पैसा बोनस सेयर र तीन दशमलव पाँच प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार दुुई सय १० रुपैयाँ १९ पैसा नगद लाभांश साधारणसभाले पारित गरेको छ । सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।
बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो । यसैगरी, सभाले गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणलगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
सभामा बोल्दै अध्यक्ष शाहले आर्थिक वर्ष २०७६/७७ को सुरुको आठ महिना देशको अर्थतन्त्र राम्रै भए पनि त्यसपछि कोभिडको महामारीका कारण प्रतिकूल असर परेकाले नेपालको बैंकिङ क्षेत्रले पनि चुनौती भोगिरहेको बताए । अध्यक्ष शाहले भने, ‘हाल बजारमा अधिक तरलता रहेको अवस्था छ, जसले गर्दा कर्जा तथा निक्षेपको ब्याजदर घटिरहेको छ भने त्यसको प्रभाव स्वरूप आधार दर पनि घट्दै गइरहेको हुँदा कर्जाको ब्याजदरमा तीव्र प्रतिस्पर्धाको अबस्था छ ।
कर्जामा घट्दो ब्याजदरले प्रभावित व्यवसायीहरूको कारोबारलाई मलम लगाउने कार्य त गरेको छ । तर, यसले बैंकिङ क्षेत्रमा ब्याजदर जोखिम समेत वृद्धि गरेको छ । त्यसैले बिभिन्न जोखिमसँग सम्बन्धित आन्तरिक तथा बाह्य गतिविधिको मेगा बैंकले सूक्ष्म अध्ययन एवं विश्लेषण गरिरहेको छ ।’
बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरूलाई बैंकिङ सेवा र सुविधाहरू अटुटरूपमा प्रदान गरेको स्मरण गर्दै उनले कोभिड १९ को चुनौतीलाई मध्यनजर गर्दै बैंकले ‘डिजिटल प्रडक्ट विभाग’को स्थापना गरेको जानकारी दिए । अध्यक्ष शाहका अनुसार, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेगा बैंकले ‘डिजिटल ट्रान्सफर्मेसन स्टेरिङ कमिटी’ गठन गरी कार्यान्वयन ल्याएको छ । ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरूप मेगाले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’ समेत सञ्चालनमा ल्याएको उनले बताए ।
सभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कोभिडबाट अन्य व्यवसाय जसरी बैंकिङ क्षेत्र समेत प्रभावित भए पनि मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको बताए । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप एक अर्ब २४ करोड रुपैयाँले वृद्धि भई एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुदकर्जा आठ अर्ब रुपैयाँले वृद्धि भई एक खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले विभिन्न छुट तथा सुविधाहरू प्रदान गरिरहेको जानकारी दिँदै सीईओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुटलगायतले कोभिडबाट प्रभावित ग्राहकहरूलाई राहत मिलेको बताए । सीईओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब एक अर्ब ९० करोड रुपैयाँ सहुलियत कर्जा र दुई अर्ब ४२ करोड रुपैयाँ पुनर्कर्जाहरू प्रवाह गरेको छ ।
बैंकिङ कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि मेगाले प्राथमिकतामा राखेको छ । ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट एक–एक जना छात्राहरूलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि ‘एक शाखा – एक छोरी छात्रवृत्ति अभियान’ सुरुवात गरेको बैंकले त्यसलाई निरन्तरता दिँदै २०७७ सालको शैक्षिक सत्रका लागि प्रत्येक शाखाहरूबाट २–२ जना छात्राहरूलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ ।
साथै, कोभिडको विषम परिस्थितिमा नेपाल सरकार तथा सबै प्रदेश सरकारहरूलाई कोभिडको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा एक करोड र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोषमा पाँच-पाँच लाख रुपैयाँ गरी एक करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
गत आर्थिक वर्षमा मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गरेपछि ५८ वटा जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका दुई सय छवटा शाखा कार्यालयहरू, ३४ वटा एक्सटेन्सन काउन्टरहरू, एक सय ४२ वटा एटीएम मेसिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरू रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया