Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी

नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी


काठमाडौं । नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ एक गते बैंकमा आयोजित कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वबिद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राडा रामजी गौतमले हस्ताक्षर गरेका हुुन् । सम्झौताअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्फका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ ।

साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ । सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैँमा सकारात्मक सुरुआत रहेको उल्लेख गर्दै यो सहकार्यले प्राज्ञिक शोध÷अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । आउँदा दिनमा यस्तो सहकार्यलाई विस्तार गर्दै जानुपर्ने आवश्यकतामा समेत उनले जोड दिए ।

कार्यक्रममा कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध, अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे । साथै, बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तो सहकार्य गर्ने बैंकको नीति रहेको जानकारी उनले दिए । कार्यक्रममा अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा अधिकारीले उक्त समझदारीसँगै विश्वविद्यालयको अनुसन्धान कार्यको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी, व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राडा गौतमले बैंक र विश्वविद्यालयबीचको समझदारीलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गी मास्केलगायत बैंकका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x