Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबागमती प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ६२ लाख ५९ हजार

बागमती प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ६२ लाख ५९ हजार


काठमाडौं । बाग्मती प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूको संख्या ६२ लाख ५९ हजारभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको प्रदेशगत वित्तीय सेवा तथा वित्तीय उपकरणको स्थितिसम्वन्धी अध्ययन प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरूसहितका कुल ६१ वटा संस्थाहरूमा कुल मोबाइल बैंकिङ प्रयोगकर्र्ताहरूको संख्या ६२ लाख ५९ हजार नौ सय २५ पुगेको हो । राष्ट्र बैंकका अनुसार यो संख्या चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको हो ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार दुई सय १५ मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार आठ सय ६६ रहेको राष्ट्र बैंकको भनाइ छ । सबैभन्दा कम कर्णाली प्रदेशमा केवल चार सय ४४ वटा शाखाहरू रहेका छन् । चालू आवको छ महिनामा मधेश प्रदेशमा सञ्चालित बैंक वित्तीय संस्थाहरूको शाखा संख्या एक हजार सात सय तीन रहेको छ । यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ६२ लाख ५९ हजार नौ सय २५ रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा चार लाख ८३ हजार ८१ रहेको छ । मधेश प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता १६ लाख १० हजार आठ सय ३३ रहेको राष्ट्र बैंकको भनाइ छ ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा नौ लाख ३९ हजार छ सय ६३ पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा नौ हजार नौ सय ६८ रहेको छ । डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८–०७९ को प्रथम अर्धवार्षिक अवधिको कुल निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ६८ दशमलव ७६ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा कम १ प्रतिशत मात्र रहेको छ । कुल निक्षेप परिचालनमा मधेश प्रदेशको योगदान पाँच दशमलव शून्य चार प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५५ दशमलव ८६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको अंश एक दशमलव १९ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा मधेश प्रदेशको अंश नौ दशमलव १३ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३४ दशमलव ३३ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको एक दशमलव ५१ प्रतिशत रहेको छ ।

मधेश प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १६ दशमलव ६२ प्रतिशत रहेको छ । विपन्न वर्गमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४५ दशमलव ७६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव ९४ प्रतिशत रहेको छ । सहुलियतपूर्ण कर्जातर्फ सबैभन्दा बढी बागमती प्रदेशमा ३० दशमलव ६५ प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम एक दशमलव ३१ प्रतिशत रही सबभन्दा कम कर्जा प्रवाह भएको देखिन्छ । पुनर्कर्जातर्फ सबभन्दा बढी बागमती प्रदेशमा ४२ दशमलव ६० प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम दुई दशमलव ३० प्रतिशत मात्र कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x