Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुशल र प्रतिस्पर्धी बनाउन अर्थमन्त्रीको सुझाव

कुशल र प्रतिस्पर्धी बनाउन अर्थमन्त्रीको सुझाव


काठमाडौं, फागुन १२
राष्ट्रिय बीमा संस्थान स्थापनाको ५३औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५३औं वर्ष प्रवेश गरेको अवसरमा आइतबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जीवन बीमा क्षेत्रमा संस्थानले आफ्नो पहुँच बढाउन शाखा कार्यालयका साथै अभिकर्ताको संख्या, गुणस्तर र क्षमता पनि बढाउन सुझाव दिएका छन् ।

सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न बीमाको पहुँच विस्तार हुने गरी बीमा सेवाप्रदायक निकायहरूको संस्थागत र प्रणालीगत सुधार गर्ने, घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उनले बताए । बीमा सेवा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षहरूमा बीमा सेवाको उल्लेख्य विस्तार भएको भन्दै उनले भने, ‘यसको बाबजुद हालसम्म नेपालको कुल जनसंख्याको २२ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्षमा संस्थानको भूमिका अझ प्रभावकारी हुँदै जानुपर्ने देख्दछु ।’ बीमाका जोखिमलाई विविधीकरण गर्न पुनर्बीमाको जोखिमलाई पनि विविधीकरण गर्नुपर्ने आवश्यकता उनले औँल्याए । बीमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनि रहेकालाई पनि समेट्ने गरी लाग्न उनले आग्रह गरे ।

संस्थानले संकलन गरेको बीमकको लगानीयोग्य रकमलाई सुरक्षित तथा प्रतिफलमुखी क्षेत्रमा लगानी प्रवाह गर्न सकिएमा यसले मुलुकको पुँजी बजार विकासतमार्फत आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरे । सरकारी स्वामित्वको बीमा संस्थानले आधुनिक प्रविधिको प्रयोग र चुस्त व्यवस्थापनबाट सञ्चालित निजी क्षेत्रका बीमा कम्पनीहरूसँग आफूलाई थप कुशल र प्रतिस्पर्धी बनाउँदै जानुपर्ने चुनौती औँल्याउँदै उनले भने, ‘अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासअनुरूप बीमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बीमा योजना, सेवाको विविधीकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा वृद्धि, आर्थिक अनुशासन, व्यावसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस् ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले नेपालको बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन र विकासमा संस्थानको योगदानको कदर गर्दै संस्थानले आफनो वित्तीय विवरणहरूको पारदर्शितामार्फत स्वस्थ व्यवसायिकताको माग पहिल्याउन सक्नुपर्ने बताए । आगामी दिनमा संंस्थानले बीमा सेवाग्राहीसँगको सुमधुर सम्बन्ध कायम गर्दै छिटो छरितो सेवा प्रदान गर्ने वातावरण तयार गरी बीमा क्षेत्रको प्रतिष्ठा जनमानसमा वृद्धि गराउने र आफ्नो जिम्मेवारीलाई आत्मसात गर्दै कार्यलाई मर्यादित तथा गुणात्मक तुल्याउने दिशामा अगाडि बढाउन उनले आग्रह गरे ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले नेपालको सबभन्दा पुरानो एक मात्र सरकारी बीमकको रूपमा संस्थानले गौरवमय इतिहास बोकेको भन्दै एकै चौमासिकमा तीन गुना बीमा प्रिमियम जम्मा गर्न सफल भएको बताए । प्रविधियुक्त सेवाको सुरुवात नयाँ सफ्टवेयर र बीमा एप्सको प्रयोगबाट सुरु गरिएको भन्दै उनले भने ‘यसलाई आगामी वर्षमा तीव्र विस्तार गरिनेछ । केही वर्षयतादेखि रोकिएको लेखा परीक्षण बीमा समितिबाट स्वीकृत गर्ने पक्रिया अघि बढाउने संकेत देखिसकेको छ । आगामी वर्षको सुरुवातमै बीमाङ्कीय मूल्याङ्कन स्विकृति प्राप्त हुनासाथ बाँकी रहेका साधारणसभाहरू सम्पन्न गर्नेछौँ ।’

बजारमा प्रचलित अरु केही बीमा प्रड्क्टहरू लन्च गर्ने र भएका केही प्रोडक्टलाई अपग्रेड गर्दै जाने संस्थाको लक्ष्य रहेको जानकारी दिँदै उनले भने, ‘एकीकृत बीमा सफ्टवेयर जडान गर्ने, जनशक्तिको वृद्धि गर्ने, बाँकी रहेको आर्थिक वर्षहरूको लेखा परीक्षण यथाशिघ्र सम्पन्न गरी यसको सेवा विस्तारलाई आक्रमकरूपमा अघि बढाई संस्थानलाई आजको प्रतिस्पर्धी बीमा बजारमा अग्रणी स्थानमा प्रमुख हिस्सेदारको रूपमा स्थापित गर्नु नै हाम्रो प्रमुख लक्ष्य रहेको छ ।’ साथै बीमा कोषलाई परिचालन गर्दा लगानी विविधीकरणको आधारमा राज्यले तोकेका महत्वपूर्ण योजना र निकायहरूमा उच्चतम प्रतिफल र सुरक्षालाई मध्यनजर गर्दै लगानी वृद्धि गर्दै लैजाने नीति संस्थानले अंगीकार गरेको उनले बताए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थानले अहिले मुलुकमा स्थापित कुल १९ वटा जीवन बीमा कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचानलाई मजबुत गराउँदै लगेको जानकारी दिँदै चालू आवको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा जीवन बीमा प्रदायकहरूको जीवन बीमा कोषमा रहेको दुई खर्ब ६५ अर्ब ७१ करोडमध्ये संस्थानको कोषमा २५ अर्ब ९६ करोड रहेको बताए । सो अवधिमा संकलित बीमाशुल्क ४७ अर्ब छ करोडमध्ये संस्थानको पाँच अर्ब ६९ करोड रहेको भन्दै उनले भने ‘यसरी हेर्दा कुल बीमाकोष र बीमाशुल्क संकलनमा संस्थानको हिस्सा क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ । त्यसैगरी संस्थानमा कुल बीमालेख संख्या संख्या छ लाख ८९ हजार रहेको छ ।’

विगतमा आठवटा मात्र शाखा त्यो पनि निष्क्रिय अवस्थामा रहेकोमा हाल १४ वटा शाखा कार्यालयमार्फत व्यवसाय सुरु गरी सबै कार्यालयबाट बीमालेख जारी गर्ने व्यवस्था मिलाइएको उनले बताए । यसै आवभित्रै थप १० वटा शाखा कार्यालयहरू स्थापना गरी २४ वटा पु-याइने भन्दै प्रशासक पाठकले भने, ‘यस अवधिमा व्यवसाय विस्तारको अभिन्न अंग रहेको अभिकर्ताको संख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । साथै आगामी दिनमा अभिकर्ताको संख्या वृद्धिको लागि निरन्तर तालिम कार्यक्रम सञ्चालन गरिनेछ । पुराना अभिकर्तालाई उत्प्रेरित गर्न पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ र यो कार्यलाई निरन्तरता दिइनेछ । साथै अभिकर्तालाई उत्प्रेरित गर्न विगतको अभिकर्ता इन्सेन्टिभ कार्याविधिलाई परिमार्जन गरी कार्यान्वयन गरिएको छ ।’

संस्थानमा चालू रहेको सफ्टवेयरलाई विस्थापित गरी यस आर्थिक वर्षबाट वेभ वेस्ड सफ्टवेयर सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले भने, ‘हाल नयाँ व्यवसाय मात्र नयाँ सफ्टवेयरबाट सञ्चालन भइरहेकोमा यही आवभित्र सबै पुरानो डाटा माइग्रेशन गरी नयाँ सफ्टवेयरबाट एकीकृत रूपमा कार्य सञ्चालन गरिनेछ । संस्थानको सेवालाई गुणस्तरीय, भरपर्दो र अझ सहज बनाउन मोबाइल एप्स तथा एसएमएस सेवाको सुरुवात गर्नुको साथै संस्थानको वेबसाइट थप व्यवस्थित गरिएको छ ।’ ग्राहकको मागबमोजिम पूरक करारको रूपमा दोहोरो दुर्घटना लाभलाई वृद्धि गरी ५० लाख पु-याएको छ जानकारी दिँदै प्रशासक पाठकले भने, ‘घातक रोग सुविधा स्वीकृतिको लागि बीमा समितिमा पठाइएको छ । त्यसैगरी नयाँ बीमा योजना सञ्चालनको लागि बीमाङ्कीकोमा पठाइएको छ ।’

कार्यक्रममा संस्थानमा आव २०७५/७६ मा आर्जित बीमा शुल्कको आधारमा उत्कृष्ट १० जना अभिकर्तालाई पदक सहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । सम्मानित हुने अभिकर्ताहरूमा मनकुमारी निरौला, सकुना अधिकारी शिवाकोटी, बद्रिप्रसाद उप्रेती, शान्ति महर्जन, बुद्धिप्रसाद गौतम, राजन रिमाल, वीरेन्द्रबहादुर शंकर, लिलाबहादुर श्रेष्ठ, बुद्धिप्रसाद रेग्मी, सुभद्रा अधिकारी, कान्छा थापा क्षेत्री र टंकबहादुर राई रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x