Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको नाफामा उछाल

महालक्ष्मी विकास बैंकको नाफामा उछाल

एक आर्थिक वर्षमा कमायो ९५ करोड १९ लाख आठ हजार रुपैयाँ खुद मुनाफा


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख आठ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४४ दशमलव २१ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८ दशमलव आठ प्रतिशतले बढेर एक अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमशः ३९ अर्ब ८८ करोड १२ लाखबाट १५ दशमलव नौ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२ दशमलव ९३ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा निष्क्रिय कर्जा अनुपात दुई दशमलव ८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा शून्य दशमलव ३७ प्रतिशतले सुधार भई दुई दशमलव ४३ प्रतिशत पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आबमा २० प्रतिशत बोनस सेयर दिएर चार अर्ब एक करोड ८ लाख पुयाएको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७५ पैसाले बढेर २३ रुपैयाँ ७३ पैसा पुगेको छ । यस्तै पुँजी पर्याप्तता अनुपात ११ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा सेयरधनी पुँजी कोष पाँच अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा सेयरधनी पुँजी कोष छ अर्ब ४२ करोड नौ लाख छ ।

बैंकले प्रदेश नं १ मा पाँच, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखामार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू प्र्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x