बीमा समितिद्वारा प्रहरीको सहयोग माग
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका सबै किसिमका समस्याहरू समाधान गर्न सकिने बताएका छन् । समितिद्वारा शनिबार काठमाडौंमा आयोजित नेपाल प्रहरीका विभिन्न निकायहरूसँग बीमा दाबी भुक्तानीमा देखिएका समस्या र समाधानका उपायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबिन गरी टुङ्गोमा पु-याउन प्रहरीको सहयोग आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष सिलवालले भने, ‘बीमा समितिले बीमा व्यवसायमा देखिएका अनियमितता र कानुनविपरीतका क्रियाकलापको अनुसन्धान गरी नियन्त्रण गर्न भरसक कोसिस गरिरहेको छ । करोडौँको बीमालेखमा अवैध लगानी भई वित्तीय अपराध समेत हुनसक्ने आशंका भएकाले त्यसमा पनि समितिले निगरानी गरिरहेको छ । तर व्यवसायको विस्तारसँगै बढ्ने आपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न सक्दैन । अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाउनुपर्ने बेला आएको छ । प्रहरीले गर्ने अनुसन्धानमा सघाउन बीमा समिति प्रतिबद्ध छ ।’
‘बीमा व्यवसाय अब एकाङ्कीरूपमा चल्न सक्दैन । फाइदाका लागि गलत गतिविधि गरिएका हुन सक्छन् । जोखिमाङ्कनमा समस्या छ । फाइदाका लागि नीति, नियम र निर्देशिकालाई तोडमोड गर्नेगरिएको पाइन्छ’, अध्यक्ष सिलवालले भने, ‘जीवन तथा निर्जीवन बीमामा कहाँ–कहाँ कमी कमजोेरी छन्, बीमा समितिले बुझेको छ र सोहीअनुसार अनुसन्धान र कारबाही अगाडि बढाएको छ । यसमा प्रहरीको पनि सहयोग आवश्यक छ । बीमा व्यवसायमा हुने अपराधिक क्रियाकलापको नियन्त्रणका लागि नवीनतम औजार एवं उपकरणको विकास तथा प्रयोगमा बीमा कम्पनीहरूले पनि प्रहरीलाई सहयोग गर्नुपर्छ ।’
कार्यक्रममा समितिका निर्देशक दिनेश कुमार लालले बीमा व्यवसायमा भएको विस्तारसँगै समस्याहरू पनि थपिँदै गएको, दाबी भुक्तानीमा समस्या देखिएको र जालसाजी तथा ठगीका घटनाहरू समेत देखिन थालेकाले यस्ता समस्याहरूका बारेमा छलफल गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । समितिका उपनिर्देशक विरोध भट्टले बीमासम्बन्धी विद्यमान कानुनी व्यवस्था, दाबी भुक्तानीमा देखिएका समस्या र समाधानसम्बन्धी प्रस्तुति गरेका थिए । यसैगरी जीवन बीमक संघका तर्फबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या तथा समाधानका उपाय र नेपाल बीमक संघका तर्फबाट सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवारले निर्जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या र समाधानका उपायसम्बन्धी प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले बीमासम्बन्धी समस्याको समाधानका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने र समस्या समाधानका लागि बीमा समितिले ठोस नीति ल्याउनुपर्ने बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बीमामा हुने अपराध तथा ठगीलगायतका सबै घटनाको अनुसन्धानका साथै ठूला ठूला बीमालेखहरूमा हुने लगानीका सम्बन्धमा समेत अनुसन्धानको आवश्यकता औँल्याए ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरू सुशीलदेव सुवेदी र पुजन ढुङ्गेल (अधिकारी), नेपाल प्रहरी प्रधान कार्यालय र मातहतका निकायहरूका प्रमुख तथा पदाधिकारीहरू र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया