Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक तथा वित्तीय संस्था परिसंघ र एक्यानबीच सम्झौता

बैंक तथा वित्तीय संस्था परिसंघ र एक्यानबीच सम्झौता


काठमाडौं  । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) बीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयहरूमा अध्ययन तथा अनुसन्धान गर्ने र सोका आधारमा अर्थतन्त्र एवं बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्नका लागि नीतिगत बहस तथा पैरवी गर्ने विषयमा भाद्र शुक्रबार सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सबलीकरणसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने र नीति नियमको प्रभाव मूल्यांकन तथा बहस पैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत अन्य सम्बन्धित निकायसँग संयुक्तरूपमा पहल गर्ने उल्लेख गरिएको छ ।

उक्त सम्झौतापत्रमा उल्लेख भएअनुसार आपसी सहकार्य तथा समन्वयमा देहायका विषयहरूमा सरोकारवाला पक्षहरूबीच व्यापक छलफल गरी अध्ययन तथा अनुसन्धान गर्ने, सुझावहरूसहितको प्रतिवेदन तर्जुमा गरी सम्बन्धित निकायहरूमा पेस गर्नेगरी सम्झौता गरिएको छ । यसअन्तर्गत देशमा अहिले बढ्दै गइरहेको आर्थिक समस्याहरू र समाधानका उपायहरू, बैंक तथा वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरू, स्वदेशी तथा वैदेशिक लगानी आकर्षण गर्ने नीति र वातावरण सुधार, औद्योगिक एवं व्यावसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू साथै, वैदेशिक व्यापारमा देखिएका समस्या र समस्या न्यूनीकरणका उपायहरू, वित्तीय एवं मौद्रिक नीति÷नियम÷निर्देशन र कार्यविधिहरूको प्रभाव विश्लेषण तथा सुधारका पक्षहरू, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९ ले सिर्जना गर्नसक्ने समस्या, असर र समाधानका उपायहरूको विषयमा सुझावसहितको प्रतिवेदन पेस गर्ने सम्झौता भएको छ ।

यसअन्तर्गत बैंकिङ, डिजिटल बैंकिङ, वित्तीय एवं मौद्रिक नीति, वैदेशिक व्यापार, एफडीआईसम्बन्धी विषयहरू, पुँजी बजार विकास, नीतिगत प्रभाव मूल्यांकनका विषयमा बहस तथा पैरवी गर्नेलगायत अन्य राष्ट्रिय महत्वका आर्थिक एवं वित्तीय कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । संस्थागत उद्देश्यहरूको परिपूर्तिका लागि मात्र नभई आम जनता र राष्ट्रको हितलाई केन्द्रविन्दुमा राखेर गरिने सम्झौताबमोजिमका कार्यहरूले दिगो आर्थिक विकास र समृद्धि प्राप्तिका लागि नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

सीबीफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सीबीफिनको तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एक्यानकोतर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरी सम्झौता सम्पन्न गरिएको हो । साथै, उक्त हस्ताक्षर कार्यक्रममा सीबीफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, महानिर्देशक डा. गोपाल प्रसाद तिवारी र एक्यानको तर्फबाट उपाध्यक्ष सुशील घिमिरे, महासचिव प्रदिप सिग्देल र कोषाध्यक्ष वर्षा बराललगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x