Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमईलाई आईपीओमा लैजाने प्रस्ताव पारित

आईएमईलाई आईपीओमा लैजाने प्रस्ताव पारित


काठमाडौं । कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आईएमईको २२औँ साधारणसभा सम्पन्न भएको छ । नेपालको पहिलो एवं नेतृत्वदायी रेमिट्यान्स कम्पनी आईएमईले शुक्रबार राजधानी काठमाडौंको लाजिम्पाटस्थित होटलले हिमालयमा सम्पन्न गरेको २२औँ साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । योसँगै आईएमईलाई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको परिचय पनि थपिएको छ ।

साधारणसभामा संक्षिप्त मन्तव्य दिँदै आईएमई ग्रुपका अध्यक्ष एवं संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै बावजुद एउटा सानो स्केलमा आईएमई स्थापना भएको स्मरण गरे । अध्यक्ष ढकालले आम सेवाग्राहीवीच आइपीओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीकोरूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै आईएमईको आजसम्मको व्यावसायिक यात्रामा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औँल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान्, पारदर्शी र व्यावसायिक दायरा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।

साधारणसभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवं आईएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए । अब नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शीघ्र आईपीओ निष्कासन गर्ने आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए  । यो प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रक्रिया अगाडि बढ्नेछ ।

रेमिट्यान्स समाधान प्रदायकहरूमध्येको अग्रणी आईएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आईएमईले विश्वभर विश्वस्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आईएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ ।

आईएमईको इतिहास : नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आईएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो । सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको सुुरुवात गरेको आईएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिट्यान्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ । अन्तर्राष्ट्रियस्तरको रेमिट्यान्स सेवामा नेपाली लगानी र ब्रान्डका लागि आईएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ ।

तत्कालीन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुःखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पु-याउनका लागि औपचारिक माध्यमको ठूलो अभाव थियो । औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निकै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आईएमई २२ वर्षमा प्रवेश गरेको छ ।

व्यवसायमा स्थायित्व, करमार्फत राज्यलाई सहयोग र मुलुकभित्रै रोजगारीका अवसरहरूको सिर्जनालगायतका उद्देश्य लिएर आजभन्दा २२ वर्षअघि आजकै दिनमा स्थापना भएको आईएमई रेमिट्यान्स सेवाको पर्यावाची आईएमई गरौँ भन्ने भनाइसहित आम नेपालीको जिब्रोमा झुण्डिएको छ । आम नागरिकको जीवनशैलीको अभिन्न अंगको रूपमा आज आईएमई स्थापित भएको छ । नेपालको पहिलो रेमिट्यान्स सेवा प्रदायकको रूपमा स्थापित कम्पनी २२ वर्षको अवधिमा बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै स्वउद्यमशीलताको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ । राज्यलाई सबैभन्दा बढी करमा योगदान गरेबापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआईपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवं विदेशी गरी दर्जनौँ संघ/संस्थाबाट सम्मानित भइसकेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आईएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्रान्डको रूपमा हेर्दै आएका छन् ।

आईएमईको स्थापनापछि औपचारिक सञ्जालमार्फत आप्रवाह हुने रेमिट्यान्सको मात्रा ह्वात्तै बढेको देखिन्छ । रेमिट्यान्सले देशको खास खास अप्ठ्यारा अवस्था जस्तैः–भूकम्प नाकाबन्दीजस्ता समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । रेमिट्यान्स आयातको मुख्य स्रोत हुनुका साथै विदेशी मुद्राको सञ्चितिको मुख्य स्रोत पनि हो । आईएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आईएमई–पे मोबाइल वालेटको सञ्चालन गरिरहेको आईएमई–पे वालेटमा हाल ३० लाखभन्दा धेरै प्रयोगकर्ताहरूले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिट्यान्स सेवाको लाभ लिइरहेका छन् । देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने रेमिट्यान्स आप्रवाहलाई औपचारिक माध्यममा ल्याउन आजको यस विशेष अवसरमा नेपाल सरकारका हरेक प्रयासहरूमा आईएमई एक अग्रणी रेमिट्यान्स सेवा प्रदायक संस्थाको रूपमा सदैव सँगसँगै रहने प्रतिबद्धता व्यक्त गर्दछ ।

आईएमई लिमिटेडका बारेमा : आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु-याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी दुई सय ३० आईएमई सेन्टरसहित ७७ जिल्लाका करिब ३५ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x