Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरु ग-यो ‘एनबैंक’

बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरु ग-यो ‘एनबैंक’


काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिल बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक)को शुभारम्भ गरेको हो ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एन्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा एनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरूपमा परिमार्जन गरीे एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ ।

नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दिगो बैंकिङमा महत्वपूर्ण योगदान पु-याउने बताए । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले भने, ‘एनबैंकको शुभारम्भसँगै अब बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्नेछ ।

ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरू प्राप्त गर्नसक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरङ्ग ल्याएको छ ।’ उपभोक्ताले विश्वसनीयता र व्यक्तिगत अनुभवद्वारा मूल्याङ्कन गर्ने बताउँदै उनले भने, ‘एनबैंक कुनै पनि भौतिक शाखाविनाको निजीकृत भर्चुअल बैंकिङ हो ।’

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकको उपयोगमार्फत खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् । एनबैंकले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्ष चौधरीले अबको बैंकिङ भविष्य डिजिटल बैंक नै रहेको स्पष्ट गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘एनबैंकको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु । हामीले सबै डाटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेका छौँ र आज नबिल स्मार्ट बैंक एप उत्कृष्ट बैंकिङ अनुभवको लागि एनबैंकमा परिणत भएको छ ।’ अनलाइन बैंकिङ रोज्ने ग्राहकलाई एनबैंकले आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा दिने उनले बताए ।

No description available.

नबिल बैंकका डीसीईओ विनयकुमार रेग्मीले नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको बताए । ‘आज पूर्णतया डिजिटल बैंक, एनबैंक शुभारम्भ गरेर नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको छ’, रेग्मीले भने, ‘नबिल बैंकले डिजिटल प्रविधिमा अगुवाइ गरिरहेको छ, हामीले डिजिटल उत्पादन र सेवाहरू सिर्जना गरेका छौँ जसले तपाईँको बैंकिङ सेवा लिने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।’

के हो एनबैंक, कसरी उपयोग गर्ने ? एनबैंक (नियो बैंक)–मोबाइल बैंकिङ एपलाई पूर्णरूपमा परिमार्जन गरेर नेपालमा पहिलो पटक नबिल बैंकले सुरु गरेको डिजिटल बैंक हो । यसअघि नै नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले अपडेट प्राप्त गर्छन् जहाँ लोगोे ‘ए’ बाट एनबैंकको ‘एन’मा परिणत हुन्छ ।यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एन्ड फिल अपडेट गरिएको छ ।

नबिल बैंकमा खाता नखोलेका ग्राहकहरूले पनि अब आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैंक खाता खोल्न सक्नेछन् । एनबैंकमार्फत खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैंकको दाबी छ ।

एनबैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् ।

यस्ता छन् एनबैंकका प्रमुख पाँच विशेषता
१. ३० सेकेन्डमै खाता खोल्न सकिने : एनबैंक एपबाट ३० सेकेन्डभित्रै एनसेभिङ खाता खोल्न सकिनेछ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्ममिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन् ।

२. डिजिटल ऋण : ग्राहकहरूले आफ्नो एनबैंक एपबाट सिधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ ।

ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोनलोन प्राप्त गर्न सक्छन् । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एनबैंक एपबाट सीधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन् । यसको लागि बैंक धाउनुपर्ने, अन्य कुनै कागजी कार्य गर्नुपर्ने छैन ।

३. एन–रेमिट : नेपालभित्र पैसा पठाउनेबाहेक विदेशमा बस्ने ग्राहकहरूले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरूसहित (यूएसडीमा) पठाइने रकमसहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछ ।

४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा : विदेशमा बस्ने ग्राहकहरूले आफ्नोे अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एनबैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन् ।

५. २४सै घण्टा सातै दिन सेवा : बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाईसीमार्फत २४सै घण्टा सेवा प्रदान गर्नेछ । एनबैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरेको छ । माथिका बाहेक ग्राहकले आफ्नो एपबाट सिधै बैंकिङ सेवाहरूको होस्टको लागि आवेदन दिन सक्छन् :
क) नयाँ डेबिट कार्ड
ख) डेबिट कार्ड प्रतिस्थापन
ग) क्रेडिट कार्ड
घ) व्यक्तिगत ऋण

यसबाहेक, निम्नलिखित सूचना सेवाहरू पनि एपबाट पहुँच गर्न सकिन्छ :
क) सम्पर्क
ख) शाखाहरू/एटीएमहरू
ग) ब्याजदर
घ) विनिमयदर
ङ) ईएमआई क्याल्कुलेटर
एनबैंकमार्फत ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा प्रयोग गर्ने सबै कुरा गर्न सक्छन् । नबिल बैंकले एन बैंकको सुरुवात गरेर सम्पूर्ण बैंकिङ क्षेत्रलाई एक पटक पुनः नयाँ उदाहरण पेस गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x