Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ क्षेत्रमा परनिर्भरता बढ्यो

बैंकिङ क्षेत्रमा परनिर्भरता बढ्यो


काठमाडौं,पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरुको बीचमा परनिर्भरता बढेको छ । वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले गर्दा पनि बैंकिङ क्षेत्रमा परनिर्भरता बढेको हो । जसले गर्दा बैंक तथा फाइनान्स कम्पनीहरुले अल्पकालीन अवधिको लागि एक आपसमा गर्ने अन्तर बैंक कारोबार रकम बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा सञ्चालनमा रहेका २२ वटा विकास बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुसहितका ५६ संस्थाले कुल २० खर्ब २५ अर्ब १२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् ।

यस अवधिमा वाणिज्य बैंकहरुले मात्र १८ खर्ब ४३ अर्ब आठ करोड र विकास बैंक एवं फाइनान्स कम्पनीहरुले एक खर्ब ८२ अर्ब चार करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकको भनाइ छ । गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल अन्तर बैंक कारोबार रकम १८ खर्ब ३९ अर्ब ४४ करोड रुपैयाँ थियो । उक्त अवधिमा वाणिज्य बैंकहरुले १६ खर्ब २६ अर्ब चार करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले दुई खर्ब १३ अर्ब ५० करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा अन्तर बैंक कारोबार रकम बढेको आधारमा यस्तो कारोबारको ब्याजदर पनि पछिल्लो समय बढेको छ । राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तरबैंक ब्याजदर २०७९ पुसमा सात दशमलव ५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव ७७ प्रतिशत मात्र रहेको थियो ।

वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ पुसमा आठ दशमलव ४२ प्रतिशत रहेकोमा २०७९ पुसमा १० दशमलव ९१ प्रतिशत कायम भएको छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव ५१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ७९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः छ दशमलव ३७ प्रतिशत र नौ दशमलव ४४ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७८ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर पाँच दशमलव शून्य सात प्रतिशत रहेकोमा २०७९ पुसमा यस्तो ब्याजददर बढेर १० दशमलव ८९ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ पुसमा चार दशमलव ७६ प्रतिशत रहेकोमा २०७९ पुसमा सात दशमलव ४८ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ पुस मसान्तमा ११ अर्ब ७५ करोड लगानीमा रहेको छ । यस अवधिमा एक लाख ४८ हजार तीन सय ४२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १० अर्ब ४५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ ।यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार ५६ ऋणीलाई प्रवाह भएको एक खर्ब ४१ अर्ब २१ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार चार सय १३ महिला उद्यमीलाई प्रवाह भएको ६५ अर्ब ८५ करोड कर्जा बक्यौता छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ७३ ऋणीको तीन अर्ब ३९ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ पुस मसान्तमा ९१ करोड २९ लाख बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया