Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘चिनियाँ बैंकको शाखा विस्तार गर्न अध्ययन भइरहेको छ’

‘चिनियाँ बैंकको शाखा विस्तार गर्न अध्ययन भइरहेको छ’


काठमाडौं । नेपाल र चीनबीचको व्यापारमा भुक्तानीको समस्या रहेको भन्दै व्यवसायीले लामो समयदेखि माग गरिरहेको चिनियाँ बैंकको शाखा स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) का उच्च अधिकारीहरूले नेपालसहित दक्षिण एसियाली मुलुकमा बैंकिङ सेवामा सहजीकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएका हुन् ।

‘नेपालमा मात्र नभई दक्षिण एसियाभर नै चिनियाँ बैंकको सेवाका लागि माग भइरहेको छ’, सीसीपीआईटी उपाध्यक्ष झाङ साओगाङले सोमबार नेपाल–चीन उद्योग वाणिज्य संघको कार्यक्रममा भने, ‘यसमा हामी गम्भीर छौँ र हामीले अध्ययन पनि गरिरहेका छौँ । त्यसैले चाँडै यो विषय सकारात्मक रूपमा सम्बोधन हुनेछ भन्ने मलाई विश्वास छ ।’

सीसीपीआईटीका उपाध्यक्ष साओगाङले चिनियाँ बैंकको सेवा विस्तार गर्नुपूर्व यस क्षेत्रको बजारको आकार, चीनसँगको आर्थिक कारोबारको माग तथा स्थानीय बैंकहरूसँगको सहकार्यजस्ता विषयमा अध्ययन भइरहेको जानकारी दिए । नेपाललगायत दक्षिण एसियामा व्यावसायिक सहकार्यको उच्च सम्भावना रहेकाले बैंकिङ सेवा विस्तारको विषयलाई आफूहरूले सकारात्मक रूपमा लिइरहेको उनको भनाइ छ ।

छलफलमा नेपाली व्यवसायीहरूले चीनसँगको कारोबारमा भइरहेको भुक्तानीको समस्यालाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए । सीसीपीआईटीकोे सात सदस्यीय टोलीको नेतृत्व गर्दै उपाध्यक्ष साओगाङले आइतबार काठमाडौं आएका हुन् । भ्रमण टोलीले चार दिन नेपालको व्यावसायिक संस्थासहित विभिन्न सरकारी प्रतिनिधिसँग भेटवार्ता गर्नेछ ।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले कोभिडपछि सुस्ताएको नेपार चीनबीचको आर्थिक सम्बन्ध पछिल्ला दिनमा सुधार हुँदै गएको बताए । ‘चीनसँगको व्यापारिक सम्बन्धमा वृद्धि, चिनियाँ पर्यटकको संख्या बढ्दै गएको जस्ता घटना हाम्रा लागि सुखद पक्ष हुन्’, अध्यक्ष तुलाधरले भने, ‘हामी चीनसँग दिगो आर्थिक साझेदारी गर्न चाहन्छौँ । यसका निमित्त चीन र नेपालबीच कनेक्टिभिटी बढाउनुपर्ने आवश्यकता छ । हामीले स्थलसँगै हवाइ सम्पर्कमा पनि उल्लेख्य वृद्धि गर्नुपर्ने जरुरी देखेका छौँ ।’

सीसीपीआईटीका उपाध्यक्ष साओगाङले चीन नेपालको दोस्रो ठूलो आर्थिक साझेदार मुलुक रहेको स्मरण गर्दै लगानी र पर्यटनसँगै अन्य क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा राखे । चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न आतुर रहेको र प्रस्तावित रेलमार्गबाट जोडिन सके लाभदायी सहकार्य हुने उनको भनाइ छ । बीआरआईमार्फत दुई देशको व्यापारिक सम्बन्धमा गुणस्तरीय आयाम थप्न सकिने उल्लेख गर्दै उपाध्यक्ष साओगाङले आसन्न बीआरआई समिटमा नेपालको सक्रिय सहभागिताको अपेक्षा गरिएको बताए । चीनका विभिन्न सहरमा हुने एक्स्पोमा विश्वका गुणस्तरीय उत्पादन सहभागी हुने गरेको उल्लेख गर्दै नेपाली उत्पादकलाई पनि उत्प्रेरित गर्नसके चिनियाँ बजारमा नेपाली वस्तु स्थापित हुने उनको सुझाव छ ।

नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनले हालैमात्र पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई समावेश गरेको स्मरण गराउँदै यसबाट सहकार्यले नयाँ उचाइ हासिल गर्ने धारणा व्यक्त गरे ।

छलफलमा व्यवसायीहरू यमुना श्रेष्ठ, विक्रम पाँडे, सुदर्शन चापागाईँ, बैंकर अशोक शेरचनलगायतले नेपाल र चीनबीचका व्यापार व्यवसायमा देखिएका समस्याबारे चिनियाँ पक्षलाई अवगत गराएका थिए । उनीहरूले स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने, नेपाली उत्पादन निकासीमा देखिएका समस्या हल गर्नुपर्ने तथा पोखरा र भैरहवा विमानस्थलबाट चीनमा विभिन्न सहरमा सिधा उडान गर्नुपर्ने सुझाव पनि दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया