Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएलिट क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स

एलिट क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी अर्थात् मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको छ । गतवर्ष नै पुँजीबजारका सक्रिय लगानीकर्ताहरू र गैरआवासीय नेपालीहरूको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रूपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधबार एक समारोहका बीच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । क्यापिटलले आगामी साता औपचारिक उद्घाटन गरी कारोबार सुरु गर्ने जनाएको छ । एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ । सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) र डिपी सेवा समेत दिने क्यापिटलले जनाएको छ ।

२२ करोड ५० लाख पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पूरा गरेर निकट भविष्यमै प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल र म्युचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए । व्यवसायिक व्यक्ति तथा संस्थाहरूको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोबार सुरु गरेको एलिट क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्किमहरू ल्याउने जनाएको छ ।

हाल सञ्चालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरहरूमध्ये यो पछिल्लो पटक स्थापना भएको मर्चेन्ट बैंकर हो । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाइसेन्स दिएको थिएन । सञ्चालनमा रहेका मर्चेन्ट बैंकरहरूमध्ये झण्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गइसकेका वा जाने क्रममा छ । नेपालमा मर्चेन्ट बैंकरको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा एलिट क्यापिटलले पूर्ण व्यावसायिक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया