Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा नवनियुक्त कर्मचारीहरूलाई पूर्वसेवाकालीन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा नवनियुक्त कर्मचारीहरूलाई पूर्वसेवाकालीन तालिम प्रदान


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी र मधेश प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका एक सय १७ जना कर्मचारीहरूलाई आइतबारबाट १४ दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरूलाई आधुनिक गुणस्तरीय बैंकिङ सेवा दिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए । उनले अन्य प्रदेशका सहायकस्तरका कर्मचारीहरूको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए ।

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराएका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जिसीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटाशाखा रहित बैंकिङ, क्यूआर कोड सेवा, पस अर्थात् प्वाइन्ट अफ सेल सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया