Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगत साता साढे एक प्रतिशत घट्यो सेयरबजार

गत साता साढे एक प्रतिशत घट्यो सेयरबजार


काठमाडौं । गएको साता सेयरबजार ३० अकं अर्थात् साढे एक प्रतिशतले घटेको छ । साताको पहिलो दिन आइतबार बिहान एक हजार नौ सय ३४ दशमलव ४८ विन्दुबाट खुलेको बजार साताको अन्तिम कारोबार दिन बिहीबार एक हजार नौ सय चार दशमलव चार विन्दुमा झरेर बन्द भएको छ ।

सातामा पाँच कारोबार दिनमा चार दिन नेप्से घटेको छ भने एक दिन बढेको छ । साताको पहिलो तीन कारोबार दिन लगानीकर्ताहरू बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासको पर्खाइमा थिए । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेर आउने हल्लाले खरिद चाप न्यून हुँदा बजार घटेको थियो । चौथो करोबार दिन बुधबार मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट खुला गरेको खबरले बजारलाई केही उचाल्यो । त्यसदिन नेप्से १५ दशमलव १४ अंकले बढेको थियो । तर त्यसको भोलिपल्ट बिहीबार वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेको तथ्यांकसहितको वित्तीय विवरण सार्वजनिक भएपछि बजार प्रभावित भयो । अन्ततः साताभर औसतमा नेप्से घटेर बन्द भयो ।

नेप्सेका अनुसार सेन्सेटिभ परिसूचक साताभर पाँच दशमलव ८६ अंक घटेको छ । साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट सूचक दुई दशमलव ११ अंक र सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५६ अंकले घटेको छ ।

यो साता नेप्सेको दैनिक कारोबार पनि घटेको छ । अघिल्लो साता दैनिक औसत एकक अर्ब ३३ करोडको सेयर कारोबार भएको बजारमा गतसाता जम्मा ९२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । साताभर चार अर्ब ६० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । साताभर सेयर लगानीकर्ताको सम्पत्ति ३८ अर्ब ७६ करोड रुपैयाँले घटेको छ । बजार पुँजीकरण २७ खर्ब ७४ अर्ब रुपैयाँमा झरेको छ । बजार घटे पनि दुई उपसमूहका सूचक बढेका छन् । बाँकी ११ उपसमूह घटेका छन् । होटल तथा पर्यटन छ दशमलव शून्य छ र निर्जीवन बीमा शून्य दशमलव शून्य दुई प्रतिशतले बढेका छन् । बाँकी सबै उपसमूह घटेका छन् । सर्वाधिक उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ६१ प्रतिशतले घटेको छ । त्यसपछि फाइनान्स समूह ३ दशमलव एक, लघुवित्त तीन दशमलव शून्य नौ, विकास बैंक दुई दशमलव ७२, लगानी दुई दशमलव ६६, जलविद्युत् दुई दशमलव ३७, व्यापार दुई दशमलव शून्य नौ, अन्य एक दशमलव ८२, म्यूचुअल फन्ड एक दशमलव ८२, जीवन बीमा एक दशमलव ७३ र बैंकिङ शून्य दशमलव ७१ प्रतिशतले घटेका छन् । साताभर नेप्सेमा दुई कम्पनीको आईपीओ र तीन कम्पनीको बोनस सेयर गरी कुल दुई करोड ३१ लाख ७४ हजार दुई सय ७१ दशमलव तीन एक कित्ता सेयर सूचीकृत भएकोे छ ।

गतसाता बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणको पर्खाइमा रहेका लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाउँदा बजार प्रभावित भएको छ । तर अब धेरै बैंक तथा वित्तीय संस्थाले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अधिकांश वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको खराब कर्जाको स्थिति बढेको छ । यसले बजारलाई अझै प्रभावित पार्नसक्ने देखिन्छ । तर खराब कर्जा बढेको बाबजुद पनि धेरै बैंक तथा वित्तीय संस्थाका मुनाफा बढेको देखिएकाले लगानीकर्ताले कसरी दिन्छन् भन्नेबारे यससताको कारोबार निकै महत्वपूर्ण हुने विश्लेषकहरू बताउँछन् । बैंकहरूले निक्षेपको ब्याजदर एकल विन्दुमा झारिसकेकाले कर्जाको माग बढ्ने र अर्थतन्त्र थप चलायमामन हुने अपेक्षा गरिएकाले पनि नसेयरबजारमा ठूलो क्षति नहुने अपेक्षामा लगानीकर्ताहरू देखिन्छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया