Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंक र नेपाल प्रहरीबीच सम्झौता

लक्ष्मी बैंक र नेपाल प्रहरीबीच सम्झौता


काठमाडौं । नेपाल प्रहरी र लक्ष्मी बैंक लिमिटेडबीच छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने सम्झौता भएको छ । सोमबार बैंक र नेपाल प्रहरीबीच ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएकोे छ ।

सम्झौताअनुसार बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’को स्थापना गरी प्रत्येक वर्ष पाँच लाख रुपैयाँका दरले पाँच वर्षसम्म कुल २५ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने सो खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।

सम्झौतापत्रमा नेपाल प्रहरीको तर्फबाट प्रहरी नायब महानिरीक्षक केदार ढकाल र बैंकको तर्फबाट प्रमुख रिटेल फाइनान्स सर्भिस दिपेश अमात्यले हस्ताक्षर गरेका छन् । यस्तै समझदारीपत्र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले आदान प्रदानगरेको बैंकले जनाएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बैंकसँगको सहकार्यले प्रहरी कर्मचारीहरूको मनोबल बढाउने, कार्यसम्पादनमा सुधार आउने र सेवामा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदानप्रदान हुने अपेक्षा समेत व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले नेपाल प्रहरीले देश तथा समाजको शान्ति सुरक्षामा गरेको योगदानको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत समझदारी गरिएको बताए । यस्तो सम्झौताले प्रहरीका सन्ततीहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग हुने अपेक्षा व्यक्त गर्दै उनले आगामी दिनमा नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताए ।

सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकिएको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाशप्राप्त, अमर÷सहिद एवं अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्माचारीका सन्ततीहरूमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने कम्तीमा दुई जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेसनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खानाखर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत उपलब्ध गराउनेछ ।

शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा चारदेखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूलगायत बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया